मानव बेचबिखन नियन्त्रण गर्न सीमा सुरक्षा र अन्तर्राष्ट्रिय समन्वय सुदृढ पार्नुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ। अनौपचारिक तथा खुला सीमा नाकाबाट हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी प्रणाली थप सुदृढ बनाउनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय सीमा सहित औपचारिक तथा अनौपचारिक नाकाबाट हुने मानव बेचबिखन नियन्त्रणका लागि सीमा सुरक्षा सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक २०८३ माथिको दफावार छलफलमा सांसदहरूले वैदेशिक रोजगारीको प्रलोभनमा मानव बेचबिखनमा परेका पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समन्वय प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका दुर्गम क्षेत्रका बालबालिकाको गैरकानूनी स्थानान्तरण तथा ओसारपसार रोक्न सीमा सुरक्षा सुदृढ गर्नुका साथै ग्रामीण स्थानहरूमा शिक्षाको पहुँच विस्तार गर्न आवश्यक रहेको सांसदहरूले औँल्याउनुभयो ।
सांसदहरूले सामाजिक सञ्जालमार्फत महिला तथा किशोरीहरूमाथि हुने गाली गलौच, चरित्रहत्या, साइवर बुलिगं लगायतका आपत्तिजनक गतिविधिमा संलग्न व्यक्तिहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा सुझाव दिनभयो ।
यस्तै बेचबिखनमा परेको पीडितहरूको गोपनीयताको हक सुनिश्चित गर्दै उनीहरूको लिखित सहमतिबिना तस्बिर तथा भिडियो सार्वजनिक रुपमा प्रचारप्रसार गर्न प्रतिबन्ध लगाउनुपर्नेमा पनि सांसदहरूले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्