तपाईँ सुन्दै हुनुहुन्छः

भावी पुस्ताले गर्व गर्ने खालको कानुन बन्नुपर्नेमा सभामुख अर्यालको जोड

कास्की । सभामुख डोलप्रसाद (डीपी) अर्यालले देशको भूगोल, समाज र भावी पुस्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

लायन्स क्लब अफ पोखराको ५०औँ स्वर्ण महोत्सव समारोहमा शनिबार उहाँले देशमा सुशासन कायम गर्न र निजी क्षेत्रलाई बलियो बनाउन सबै क्षेत्रको चासो, सहकार्य र साथ आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्र बलियो नभएसम्म देश समृद्ध बन्न नसक्ने उहाँको भनाइ थियो ।

भ्रष्टाचार अन्त्य र देशमा सुशासन कायम गर्ने उद्देश्यसहित आफू अभियानमा लागेको उहाँले बताउनुभयो । राजनीतिमा प्रवेश गरेपछि इमानदारीपूर्वक काम गर्नुपर्ने जिम्मेवारीबोध भएको उहाँको भनाइ थियो ।

लायन्स क्लब समाजका विभिन्न क्षेत्रका सफल व्यक्तित्व, व्यवसायी, चिकित्सक, प्राध्यापक, कृषक, मजदुर तथा जनप्रतिनिधि जोडिएको संस्था रहेको उल्लेख गर्दै उहाँले कानुन निर्माणमा सरोकारवालाको सुझाव र बहस आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसहित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसमेत कानुन निर्माण प्रक्रियासँग जोडिने उहाँले बताउनुभयो ।

सन् २०१६ देखि लायन्समा आबद्ध भएको स्मरण गर्दै उहाँले समाज सेवाबाट प्राप्त प्रेरणा अहिले राजनीतिमार्फत देश र जनताको सेवा गर्ने अर्को अवसर बनेको बताउनुभयो । 

स्वर्ण महोत्सवमा सम्मानित अग्रजहरूको योगदानले भावी पुस्तालाई समाजसेवामा प्रेरित गर्ने बताउँदै उहाँले संसद्लाई उत्कृष्ट र प्रभावकारी बनाउन समाजका विभिन्न क्षेत्रबाट प्रेरणा र सुझावको अपेक्षा गर्नुभयो ।

देशको भूगोल सुहाउँदो, अग्रज र अभिभावकलाई सम्मान गर्ने तथा भावी पुस्ताले गर्व गर्ने खालका कानुन बनाउनुपर्नेमा जोड दिँदै उहाँले पुराना कानुन संशोधन र नयाँ कानुन निर्माणमा सबैको सहयोग तथा सुझाव आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button