तपाईँ सुन्दै हुनुहुन्छः

बबई नदीमा दश हजार माछाका भुरा छोडियो 

बर्दिया । बर्दियाको बबई नदीमा विश्व मत्स्य दिवसको अवसरमा १० हजार माछाका भुरा छोडिएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले गुलरिया नगरपालिका–४ स्थित जब्दी घाटमा माछाका भुरा छोडेको हो ।

‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने मुल नाराका साथ नदीमा विश्व मत्स्य दिवस मनाइएको हो । 

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले जलवायु परिवर्तनको प्रभाव नदी, नाला र सिमसार क्षेत्र र जलचर प्राणीमा देखिएको हुनाले त्यसको प्रभाव कम गर्नका लागि माछाका भुरा नदीमा छोडिएको बताउनुभयो । उहाँले अनियमित वर्षा, नदीको बहावमा आउने परिवर्तन, बाढी तथा खडेरीले माछाको प्राकृतिक बासस्थान र प्रजनन् प्रक्रियामा प्रतिकूल असर पु¥याइरहेको बताउनु भयो । 

अव्यवस्थित तरिकाले माछा मार्ने प्रवृत्ति, विषादी तथा विद्युतीय करेन्ट प्रयोग, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन, जथाभाबी उत्खननले माछाको प्राकृतिक बासस्थान विनाश भई माछाको अस्तित्व सङ्कटमा रहेको प्रमुख अधिकारीको भनाई छ ।  

जिल्ला मत्स्य व्यवसाय संघका अध्यक्ष गणेश लम्सालले नदीमा अव्यवस्थित रुपमा माछा मार्ने चलन रहेको बताउँदै माछाका भुरा नदीमा छोड्दा रैथाने प्रजातिका माछा संरक्षणमा सघाउ पुग्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button