तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँ’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । 

कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा उहाँले समाजलाई सकारात्मक दिशामा अघि बढाउन नयाँ दर्शन, विचार र सदाचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको र यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओम शान्ति परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले समाज रूपान्तरण, शान्ति, सदाचार र सामाजिक सद्भावका लागि यस संस्थाले पुर्‍याउँदै आएको योगदानबाट अरूले पनि शिक्षा लिनुपर्ने बताउनुभयो । 

उहाँले प्रदेश सरकारले स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसार विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई अझ सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले समाजमा बढ्दै गएको बेचैनी, अशान्ति र असहिष्णु प्रवृत्तिलाई आध्यात्मिक जागरणका माध्यमबाट निरुत्साहित गर्न सकिने बताउनुभयो । यस कार्यमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलगायत धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button