रुपन्देहीमा एक महिनामै १३० अपराधका मुद्दा, ६ जनाको हत्या
रुपन्देही । रुपन्देहीमा अपराध, दुर्घटना, घरेलु हिंसा र सामाजिक विकृतिका घटना बढ्दै गएको प्रहरीको मासिक विवरणले देखाएको छ ।
कात्तिक महिनामा जिल्लामा विभिन्न प्रकृतिका १३० वटा आपराधिक मुद्दा दर्ता भएका छन् भने सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यही अवधिमा विपद्का घटनामा पाँच जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको कात्तिक महिनाको प्रगति विवरणअनुसार सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधका ३५ वटा मुद्दा दर्ता भएका छन् । ज्यानसम्बन्धी २६, सामाजिक अपराधका २२, आत्महत्यासम्बन्धी १३, चोरीका ११, महिला तथा बालबालिकासम्बन्धी ११ र सवारीसम्बन्धी ११ वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक विविध प्रकृतिको एउटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
मुद्दाको अनुसन्धान तथा कारबाहीका क्रममा चालू मुद्दाका १२६ जना प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनतर्फ १११ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।
पक्राउ परेका फरार प्रतिवादीबाट ६४ लाख ७८ हजार ७६८ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने र १७ वर्ष नौ महिना २४ दिन कैद सजाय कार्यान्वयन गर्नुपर्ने रहेको प्रहरीले जनाएको छ ।
हत्याका घटनामा चार पक्राउ, १८ वर्ष पुरानो घटनाका दुई आरोपी जेल
कात्तिक महिनामा कोटहीमाई गाउँपालिकामा भएको महिला हत्या तथा लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धानखेतमा ४१ वर्षीया जुबेदा भन्ने जोबेदा खातुन धोबीको टाउकोमा कोदालोको बिँडले प्रहार गरी तथा घाँटीमा हँसियाले घोपी हत्या गरिएको थियो । उनको कानमा रहेका सुनका गहनासमेत लुटिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा कोटहीमाई–६ का बैजनाथ यादव, मन्जे हरिजन, प्रमोदकुमार कुर्मी र धर्मराज यादव पक्राउ परेका छन् । उनीहरूलाई अदालतमा पेस गरी ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, २०६५ मंसिर ६ गते राति रोहिणी गाउँपालिका–३ झुंगापरासीस्थित हुलाकी सडकखण्डमा गोली हानी हत्या गरिएका चिनक राजभर भन्ने मुनिराम राजभरको घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
प्रहरीले रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रह्लाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मीलाई पक्राउ गरेको हो । अदालतको आदेशपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, विभिन्न स्थानमा देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रणतर्फ कात्तिक महिनामा पाँच वटा मुद्दा दर्ता भएका छन् । यसमा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूबाट ट्यापेन्टाडोलका ५०० ट्याब्लेट, ट्रामाडोलका २० ट्याब्लेट, डाइजापामका १४ एम्पुल, फेनारगनका १३ एम्पुल र बुप्रेनोर्फिनका ११ एम्पुल बरामद गरेको छ । यसैगरी, ४३ ग्राम ४५० मिलिग्राम ब्राउनसुगरसमेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
महिला तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घरेलु हिंसाका ६८ वटा उजुरी कात्तिक महिनामा प्रहरीमा परेका छन् । तीमध्ये ४८ वटा उजुरीमा मिलापत्र भएको, १२ वटा सम्बन्धित निकायमा पठाइएको र आठवटा प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाका उजुरीमध्ये २९ वटा घरायसी झैझगडा, १६ वटा घरमा खान–बस्न नदिएको, १० वटा कुटपिट तथा घाउजाँचसम्बन्धी, ११ वटा मादक पदार्थ सेवन गरी गालीगलौज गरेको र दुई वटा विवाह दर्ता तथा नागरिकता नबनाइदिएको विषयसँग सम्बन्धित छन् ।
छिमेकीसँगको विवादमा ३४ वटा ठाडो निवेदन परेकोमा २७ वटा फर्स्योट भएका छन् । प्रहरी कार्यालयमा प्रत्यक्ष दर्ता भएका ५६१ ठाडो उजुरीमध्ये ५३३ वटा समाधान भएका छन् भने २८ वटा बाँकी छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत आएका आठवटा उजुरीमध्ये पाँच वटा फर्स्यौट भएका छन् ।
कात्तिक महिनामा रुपन्देहीबाट महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ८६ जना हराएको विवरण प्रहरीमा दर्ता भएको छ । तीमध्ये ५७ जना फेला परेका छन् । हराउनेमा ३६ महिला, २० पुरुष, नौ बालक, १६ बालिका र पाँच ज्येष्ठ नागरिक पुरुष रहेका छन् । हराएका महिलामध्ये २४, पुरुषमध्ये १४, बालकमध्ये आठ, बालिकामध्ये सात र ज्येष्ठ नागरिक पुरुषमध्ये चारजना फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रुपन्देहीमा कात्तिक महिनामा २३४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३७३ जना घाइते भएका छन् । दुर्घटनामा ३३० वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १७२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट ३६ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीको विवरणमा उल्लेख छ ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत कात्तिक महिनामा १ करोड ७३ लाख २० हजार ८९४ रुपैयाँ बराबरको राजस्व नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । यस क्रममा आठजना पक्राउ परेका छन् भने नौवटा सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।
अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा तीनवटा मोटरसाइकलसहित १३५ वटा कुखुरा र आठ वटा बोका बरामद गरिएको छ । यसबाट ३ लाख ६४ हजार ३९६ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ एउटा ट्याक्टर बरामद गरी १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यसैगरी कात्तिक महिनामा रुपन्देहीमा १८ वटा विपद्का घटना भएका छन् । तीमध्ये १२ वटा आगलागीका घटना रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । डुबेर तीनजनाको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ । विपद् व्यवस्थापन तथा उद्धारका लागि ९६ जना प्रहरी परिचालन गरिएको थियो ।
अपराध नियन्त्रण र सामाजिक सुरक्षासँगै प्रहरीले विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । विद्यालयमा लागुऔषध, ट्राफिक नियम, साइबर अपराध, बालविवाह नियन्त्रण र जबर्जस्ती करणीविरुद्ध आठवटा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा २६९ विद्यार्थी सहभागी भएका थिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चोरी, आत्महत्या, लागुऔषध, घरेलु हिंसा, ट्राफिक नियम, बैङ्किङ कसुर, साइबर अपराध, मानव बेचबिखन, महिला हिंसा, बालविवाह तथा बाल यौन दुर्व्यवहारविरुद्ध ८२ वटा कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममा २ हजार २६५ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा प्रहरीका हटलाइन र सम्पर्क नम्बरमा कात्तिक महिनामा ४ हजार ९०१ वटा कल आएको छ । नागरिक सहायता कक्षमा २ हजार १७७ जना सेवाग्राहीको विवरण दर्ता गरिएको प्रहरीले जनाएको छ ।
यसै अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने २१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । बाह्य सङ्घसंस्थाबाट उत्कृष्ट कार्य गरेबापत पाँचजना प्रहरी कर्मचारीले प्रशंसापत्र प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्