मकवानपुरमा एकादशीको रौनक: त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा भव्य मेला

मकवानपुर । हरिबोधिनी एकादशीका दिन शुक्रवार मकवानपुरको विभिन्न स्थानमा भव्य मेला लागेको छ ।
कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्वमा हरेक वर्षझैँ यसवर्ष पनि मकवानपुरको त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा भव्य मेला लागेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा हरेक वर्ष हरिबोधिनी एकादशीको अवसरमा परम्परागत धार्मिक मेला लाग्ने गर्दछ । वि.सं. १९७० तिर स्थापित यस मन्दिरमा रहेको प्राकृतिक त्रिखण्डी शिवलिङ्गको दर्शन, तुलसी विवाह, फूलको डोरी तार्ने र लाखबत्ती बाल्न मकवानपुरसहित छिमेकी जिल्ला तथा काठमाडौँ उपत्यकाबाट हजारौँ भक्तजन आउने गर्दछन् ।
मेलामा स्थानीय किसानले उत्पादन गरेका सखरखण्ड, पिँडालु, उखु, बदामलगायत कृषि उपजको बिक्री हुने गर्दछ । मेलाका अवसरमा शुक्रवार बिहानैदेखि त्रिखण्डी मन्दिरमा ठूलो घुइँचो लागेको छ । त्रिभुवन राजपथ सडकखण्डमा पर्ने सो मन्दिरमा मेला भर्न छिमेकी जिल्ला बारा, पर्सा, चितवनबाट पनि मानिसहरू आउने गरेका छन् । मेला अवधिभर मन्दिर परिसरमा माछामासु, मदिरा बिक्री रोकिएको र जुवातास खेल्न निषेध गरिएको छ ।
मेला तथा जात्राका कारण भिडभाड बढ्ने हुँदा उक्त सडकमा स्थानीय प्रशासनले आज सार्वजनिक यातायात बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ आउजाउ गर्ने गाडीलाई आज एक दिन कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै थाहा नगरपालिकास्थित ऋषेश्वर मन्दिरमा पनि भव्य मेला लागेको छ । मकवानपुरको थाहा नगरपालिका–४ मा पर्ने हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रूपमा रहेको ऋषेश्वर/छ्युमिग झ्याङछुपमा विशेष मेला लागेको हो ।
ठूलो एकादशीका अवसरमा अघिल्लो दिन रातभर भक्तजनहरू दीप प्रज्वलनसहित जाग्राम बस्ने गर्दछन् । सोही परम्परा अनुसार यस वर्ष हिजो साँझबाटै भक्तजनहरू ऋषेश्वर परिसरमा जाग्राम बसेका छन् । ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिले मेला/जात्रा अवधिभर मन्दिर तथा जात्रा लाग्ने स्थानमा माछामासु तथा मदिरा पूर्ण रूपमा खरिद, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएको छ । समितिले आर्थिक लेनदेन हुने कुनै पनि प्रकारको खेल खेलाउन र र खेल्न प्रतिबन्ध लगाएको छ ।

त्यस्तै मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार परिसरस्थित वंशगोपाल मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ । मकवानपुरगढी गाउँपालिका–२ मा रहेको उक्त स्थानमा हरेक वर्ष झैँ एकादशीका दिन आज बिहानैदेखि व्रतालु तथा भक्तजनको ठुलो भिड लागेको वडाध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिनुभयो । उक्त स्थानमा मकवानपुरगढी गाउँपालिको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, तथा हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिकालगायत मधेश प्रदेशबाट समेत मेला भर्न आएका हुन् । ऐतिहासिक गढी दरबारमा हरेक वर्ष ठुलो एकादशीमा जात्रा लाग्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्