प्रधानमन्त्री शाहको भारत भ्रमण : जनकपुरधाम–अयोध्या रेल सेवाको तयारी तीव्र
जनकपुरधाम। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा नेपालसँग रेलसेवाको कनेक्टिभिटि बढाउनका लागि जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ ।
भारतीय रेल मन्त्रालयले माता सीताको जन्मभूमि जनकपुरधामदेखि भगवान् श्रीरामको जन्मभूमि अयोध्याको क्यान्टसम्म साप्ताहिक एक्सप्रेस रेल सञ्चालनका लागि स्वीकृति प्रदान गरेपछि तयारी तीव्र पारिएको छ ।
भारतको रेल मन्त्रालयले नोभेम्बर १४ मा सार्वजनिक गरेको जानकारी अनुसार रेल सेवा सातामा एक दिन सञ्चालन हुने छ । भारतमा निकै लोकप्रिय रहेको बन्दे भारत रेल सञ्चालनको तयारी गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतको अयोध्याधामबाट जनकपुरधामसम्मको करिब ६ सय ४ किलोमिटर दूरी तय गर्ने र यसले नेपाल भारतको संस्कृति तथा धार्मिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास दुई देशको सरकारको रहेको छ ।
स्वीकृत समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्याको क्यान्ट पुग्नेछ ।
त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलवार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्ने समय तालिका भारतीय रेल विभागले सार्वजनिक गरेको छ ।
रेल भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख शहर तथा स्टेसन हुँदै जनकपुरधाम आई पुग्नेछ । जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहने भारतीय रेल मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम र अयोध्या हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक आस्थाका केन्द्र हुनुका साथै मंसिर २३ गते पर्ने श्री सीताराम विवाह पञ्चमी महोत्सव भन्दा अगाडि रेल सेवा सञ्चालनमा आउने भएपछि जनकपुरधामका पर्यटन व्यवसायीहरू उत्साही देखिन्छन् ।। जनकपुरधाममा मंसिर २३ गतेदेखि सप्ताहव्यापी श्री सीताराम विवाहपञ्मी महामहोत्सवको तयारी पनि शुरु भएको छ ।
दुई धार्मिक नगरीबीच सिधा रेल सम्पर्क स्थापित हुनुले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा ठूूलो योगदान दिने विश्वास जनकपुरधामका पुराना पर्यटन व्यवसायी दशरथ साहले बताउनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा शुरु हुन लागेको सिधा रेल सेवा सञ्चालनले दुवै ठाउँको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्नुका साथै अध्ययन तथा पेशा, रोजगारमा जानेलाई पनि सहयोगकासाथै आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
जनकपुरधामसम्म रेल सेवा सञ्चालनका लागि भौतिक तथा पूर्वाधारको अवस्थाका सम्बन्धमा भारतीय रेल सेवाले यसअघि नै १७ डब्बाको भारतीय रेल पठाएर परीक्षण गरिसकेको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्