तपाईँ सुन्दै हुनुहुन्छः

विश्व दर्शनशास्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्वको सबैभन्दा प्राचीन चिन्तनका रूपमा रहेको दर्शनशास्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विश्वको प्राचीन दर्शन विधालाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा प्रस्ताव पारित गरेर हरेक वर्षको नोभेम्बरको तेस्रो बिहीबार ‘विश्व दर्शनशास्त्र दिवस’ मनाउन सुरु गरेको थियो । सोही वर्षदेखि यो दिवस विश्वभर मनाउन थालिएको हो । 

नेपालमा भने सन् २०१२ देखि विश्व दर्शनशास्त्र दिवस मनाउन थालिएको हो । यस अवसरमा विश्वभरिका दर्शनशास्त्री, दर्शनशास्त्रप्रेमी, स्वतन्त्रताप्रेमी, मानवतावादी तथा अन्य सरोकार भएकाहरूले विभिन्न कार्यक्रम गरेर दर्शनशास्त्रको महत्वमाथि प्रकाश पार्ने गरेका छन् । यो दिवस त्रिभुवन विश्वविद्यालय मनोविज्ञान तथा दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभाग, नेपाल नेपाल प्रज्ञा(प्रतिष्ठान, दर्शनशास्त्र अध्ययन केन्द्र, जरोकिलो प्रतिष्ठान नेपाललगायत सङ्घसंस्थाहरूले विविध कार्यक्रम गरेर मनाउँदै छन् ।

नेपालमा दर्शनशास्त्रको अध्यापन सन् १९१८ देखि त्रिचन्द्र कलेजमा आरम्भ भएको थियो । तत्कालीन त्रिचन्द्र कलेज पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभागका प्रा गोविन्दशरण उपाध्यायले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि त्रिचन्द्र क्याम्पसमा प्रा डा गोदत्तमान श्रेष्ठको (क्याम्पस प्रमुख) ले स्नातक तहमा दर्शनशास्त्र पढाउनुभएको अभिलेखमा उल्लेख गरिएको उहाँले बताउनुभयो । त्रिविले विराटनगर, लहान, पाटन, रत्नराज्य र त्रिचन्द्रलाई दर्शनशास्त्र पढ्ने र पढाउने सम्बन्धन दिएकामा हाल रत्नराज्य र पाटनमाबाहेक सबैतिर पठनपाठन हुने गरेको जनाइएको छ ।

प्रा उपाध्यायका अनुसार दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगत्लाई सत्मार्गमा लगाउने अर्थात् सत्यं, शिवं, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान हो । “मानव जीवनलाई सकारात्मक मार्गमा लैजान यसको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र-ठेलीको मूल्यमान्यता अत्यधिक हुने भएकाले पनि यो दिवस मनाउनु अर्थपूर्ण मानिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button