मानव बेचबिखन विधेयकमा यौन तथा श्रम शोषणलाई अपराध मान्न सांसदहरूको सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार विधेयक २०८३ माथि दफावार छलफल भएको छ ।
समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरु भूमिका श्रेष्ठ, गणेशबहादुर विश्वकर्मा, रिना उप्रेती, इन्दिरा राना, मनमाया विश्वकर्मा, पार्वती विकलगायतले मानव बेचबिखनजस्तो अपराधमा संलग्नलाई कडा कारबाही सुनिश्चित हुने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो ।
मानव बेचबिखन देश भित्रभन्दा अन्य मुलुकमा बढी हुने गरेको भन्दै सांसदहरुले विधेयकमा प्रस्ताव गरिएको बेश्यावृद्धिका लागि हुने बेचबिखनका सट्टामा यौन शोषण राख्न संशोधन पेश गर्नुभयो ।
श्रम शोषणमा समेत महिला र बालबालिका बढी बेचिने गरेकाले विधेयकले श्रम शोषणलाईसमेत अपराध मानेर दण्डनीय बनाउन सुझाव दिनुभयो ।
सांसदहरुले नेपालमा बसेर मानव बेचबिखनमा संलग्न विदेशी नागरिकलाई सम्बन्धित देशमा डिपोट गरिसकेपछि पनि कारबाही प्रक्रियाबारे नेपाललाई जानकारी हुने गरी अन्तरदेशीय समन्वय आवश्यक रहेको बताउनुभयो ।
बैठकमा समिति सभापति आकृति अवस्थिले विश्वका विभिन्न मुलुकमा हुने मानव बेचबिखन तथा ओसारपसारका स्वरूपहरू बदलिएको सन्दर्भमा विस्तृत छलफल गरेर कानूनलाई समयानुकूल बनाइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्