तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक महिनामा १७ सवारी दुर्घटना, ५ जनाको मृत्यु

सल्यान । सल्यानमा कार्तिक महिनामा मात्रै १७ वटा सवारी दुर्घटना भएका छन् ।  दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सल्यानको कार्तिक महिनाको तथ्यांकअनुसार जिल्लामा भएका दुर्घटनामा १७ वटा सवारीसाधन संलग्न रहेका छन् । 

तीव्र गति र चालकको लापरबाही सवारी दुर्घटनाको मुख्य कारण देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ   कार्तिक महिनामा तीव्र गतिका कारण मात्रै नौ वटा र  चालक तथा अन्य लापरबाहीका कारण चारवटा दुर्घटना भएको सञ्चार शाखाले जनाएको छ । 

यसैगरी, सवारीसाधनमा क्षमताभन्दा बढी भार अर्थात् ओभर लोडका कारण एक, यात्रुले सावधानी नअपनाई सवारी चढ्दा एक तथा सडकको चिप्लो, कच्ची र जीर्ण अवस्थाका कारण दुईवटा दुर्घटना भएको प्रहरीको विश्लेषण छ । 

दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनका लागि प्रहरीले चेकजाँचलाई तीव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  कार्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने २६१ जना माथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट दुई लाख ३० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको भएको छ । 

जिल्लामा ग्रामीण तथा भित्री सडकको अवस्था, तीव्र गति, चालकको लापरबाही र क्षमताभन्दा बढी भार बोकेर सवारी सञ्चालन गर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button