फोहोरबाट रोजगारी र आम्दानी सिर्जना गर्ने लक्ष्यसहित सुरु भयो आरयू फेस्ट
पोखरा । फोहोरलाई समस्याका रूपमा मात्र नभई आम्दानी र रोजगारीको स्रोतका रूपमा उपयोग गर्ने उद्देश्यसहित पोखरामा आज (बुधबार) देखि दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६’ सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा दिगो फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा पुनर्चक्रण मार्फत हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पोखराको इभेन्ट सेन्टरमा उक्त उक्त महोत्सव सुरु भएको हो ।

बिहीबारसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त महोत्सवले फोहोरबाट कसरी मोहोर आम्दानी गर्न सकिन्छ भन्ने गतिलो पाठ सिकाएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नहेरी त्यसमा रहेका सामाजिक, आर्थिक तथा वातावरणीय सम्भावनाको पहिचान गर्नुपर्ने बताउनुभयो । पुनः प्रयोग र प्रशोधनमार्फत फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्दै चक्रीय अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकलिङ तथा अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना (जीसीआरयू) परियोजनाअन्तर्गत महोत्सव आयोजना गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महोत्सवले पुनर्चक्रण तथा पुनः प्रयोगमा संलग्न उद्यमी, पर्यटन व्यवसायी, निजी क्षेत्र, विद्यार्थी र सर्वसाधारणबिच सहकार्य विस्तार गर्दै स्थानीय उद्यमका उत्पादनलाई बजारसम्म पुर्याउने अवसर सिर्जना गर्नेछ ।
महोत्सवमा रिसाइकलिङ तथा अपसाइक्लिङबाट तयार गरिएका सामग्रीको प्रदर्शनी तथा बिक्रीलाई मुख्य आकर्षणका रूपमा राखिएको छ । जीसीआरयू परियोजनाको सहयोगमा प्रवर्द्धित स्थानीय उद्यमीका उत्पादनसँगै छनोट भएका पाँच विद्यालयका आरयू क्लबका विद्यार्थीले तयार गरेका सामग्रीसमेत प्रदर्शनीमा राखिएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महोत्सवले फोहोरको वर्गीकरण, पुनः प्रयोग तथा व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै रिसाइकलर, अपसाइकलर, निजी क्षेत्र र पर्यटन व्यवसायीबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रवेश निःशुल्क रहेको महोत्सवमा विद्यार्थी, युवा, उद्यमी, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहकार्यमा ‘रि–थिङ्क २०२६ : फ्रम वेस्ट टु वर्थ’ नारासहित आयोजना गरिएको महोत्सव बिहीबारसम्म सञ्चालन हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्