बर्दियामा शुक्रबारदेखि धान खरिद सुरु गरिने
बर्दिया । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले आगामी शुक्रबारदेखि राजापुर नगरपालिकामा धान गर्ने निर्णय गरेको छ । धान खरिदको लागि बिहीबार टोकन वितरण गरेर शुक्रबार देखि धान खरिद गर्ने निर्णय गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेले चार सय किसानलाई बिहीबार टोकन वितरण गरिने बताउनुभयो । टोकन वितरण गरेका किसानलाई शुक्रबारदेखि प्रतिकिसान बढीमा २० क्विन्टल धान खरिद गर्ने उहाँले जानकारी गराउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेले बर्दिया जिल्लाका लागि गत वर्ष जस्तै यस वर्ष पनि तीस हजार क्विन्टल धान खरिदका लागि अनुमति आएको जानकारी दिनुभयो । जसमध्ये प्रति पालिका तीन हजार क्विन्टल धान खरिद गरिने छ । प्राथमिक खरिद समितिले आठ ओटा पालिकामा प्रति पालिका तीन हजार क्विन्टलका दरले खरिद गर्ने निर्णय गरेको थियो ।
राजापुर नगरपालिकामा शुक्रबारदेखि धान खरिद गर्ने योजना रहे पनि अरू पालिकामा भने धान खरिद अन्योलमा रहेको छ । नगरपालिकाले धान राख्नको लागि गोदामको व्यवस्था गरेमा तत्कालै अरू पालिकामा पनि धान खरिद सुरु गरिने प्रमुख पाण्डेले बताउनुभयो । गत वर्ष गोदामको व्यवस्थापन गरेका छ ओटा पालिकाबाट तीस हजार दुई क्विन्टल धान खरिद गरिएको थियो ।
सरकारले यस वर्षको लागि मोटो धानको तीन हजार छ सय ६० रुपियाँ र मध्यम धानको तीन हजार आठ सय ६० रुपियाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको थियो भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको थियो ।







प्रतिक्रिया राख्नुहोस्