पिजे श्रेष्ठलाई एसीयू ग्लोबल कनेक्सन अलुम्नाई अवार्ड
काठमाडौँ । नेपाली–अस्ट्रेलियाली उद्यमी तथा सामुदायिक अगुवा प्रमेज (पिजे) श्रेष्ठलाई अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ग्लोबल कनेक्सन अलुम्नाई अवार्ड प्रदान गरिएको छ ।

व्यवसाय र सामुदायिक सेवामार्फत अस्ट्रेलिया र नेपाललाई जोड्ने काममा उनले पुर्याएको योगदानको कदर स्वरूप यो सम्मान दिइएको आयोजकले जनाएको छ । यस वर्षको पुरस्कार घोषणा गर्दै एसीयूका उपकुलपति तथा अध्यक्ष प्रोफेसर ज्लाट्को स्क्रबिसले भने– प्रतिभा र दृढ सङ्कल्पलाई समाजमा परिवर्तन ल्याउने प्रतिबद्धतासँग जोड्दा के सम्भव छ भन्ने कुरा हाम्रा पूर्व विद्यार्थीहरूले देखाएका छन् ।
सल्लाहकार फर्म डिजिटल कन्सल्टिङ भेन्चर्स का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत रहेका श्रेष्ठले अस्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवारी दिनुका साथै युवा नेपाली–अस्ट्रेलियालीहरूलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू पनि सुरु गरेका छन् । उनी सन् २०१९ मा अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दलबाट उम्मेदवार बन्ने नेपाली मूलको पहिलो व्यक्ति बनेका थिए ।
एसीयू अलुम्नाई अवाड्र्सले विश्वभर छरिएर रहेका एक लाख ५५ हजारभन्दा बढी पूर्व विद्यार्थीहरूको उपलब्धिको उत्सव मनाउँछ । विश्वव्यापी सम्बन्ध, अन्तर सांस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय सहकार्यमा उत्कृष्ट योगदान पुर्याउँदै विश्वविद्यालयको एकताबद्ध र समावेशी विश्वको परिकल्पनालाई अघि बढाउने पूर्व विद्यार्थीलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
श्रेष्ठ ४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अष्ट्रेलियन अवार्ड (हाल एसियन अष्ट्रेलियन लिडरसिप अवार्ड भनिन्छ)– २०२४, मिस्टर नेपाल ओसियाना– २०१६ जस्ता अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।
उनले रसुवामा गएको बाढीको समयमा स्थलगत रूपमै खटिएर स्रोतसाधनको समन्वय गर्न र अस्ट्रेलियामा रहेका परिवार तथा समर्थकहरूसँग सञ्चार सम्पर्क गराउन समेत सहयोग गरेका थिए ।
सन् २०१५ मा ब्याचलर अफ कमर्स उत्तीर्ण गरेका श्रेष्ठका लागि एसीयूको यो सम्मान व्यक्तिगत रूपमा पनि निकै विशेष छ । उनले आफ्नो क्षमता पहिचान गर्न र सही दिशा दिन विश्वविद्यालयका प्राध्यापक र करियर टोलीले मद्दत गरेको भन्दै श्रेय दिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्