मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट
क्वालालम्पुर । मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम राख्न सहयोग पुगेको मलेसियाको तथ्याङ्क विभाग (डीओएसएम) ले मङ्गलवार जनाएको छ ।
विभागका अनुसार सन् २०२५ मा कुल राष्ट्रिय आय (जीएनआई) सूचकाङ्क सबैभन्दा बढी ०.८९७ रहेको छ । यो सन् २०२४ को ०.८९१ को तुलनामा वृद्धि हो ।
त्यस्तै, औसत आयुसम्बन्धी सूचकाङ्क पनि अघिल्लो वर्षको ०.८३७ बाट बढेर ०.८४३ पुगेको छ । तर, शिक्षा सूचकाङ्क भने ०.७५१ बाट घटेर ०.७४० मा झरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विभागका अनुसार सन् २०२३ देखि २०२५ सम्मको अवधिमा सन् २०२० देखि २०२२ को तुलनामा मृत्यु हुनेको सङ्ख्या घटेकाले औसत आयु सूचकाङ्कमा सुधार आएको हो । सन् २०२०–२०२२ को अवधिमा कोभिड–१९ महामारीका कारण सामान्य अवस्थाभन्दा बढी मृत्यु भएका थिए ।
त्यसैगरी, जीएनआई सूचकाङ्कमा भएको वृद्धिलाई मलेसियाको सकारात्मक आर्थिक प्रदर्शनसँग जोडिएको छ । सन् २०२५ मा मलेसियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५.२ प्रतिशतले वृद्धि भएको थियो ।
यद्यपि, शिक्षा सूचकाङ्कमा आएको गिरावट अपेक्षित विद्यालय शिक्षाको अवधि र जनसङ्ख्याको शैक्षिक उपलब्धिमा आएको परिवर्तनसँग सम्बन्धित रहेको विभागले जनाएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्