परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो र फापर जस्ता रैथाने अन्नबाली पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन्। औषधीय गुण,पोषिलो र अर्ग्यानिक खानाका रूपमा परिचित परम्परागत रैथाने बाली हराउँदै गएको स्थानीयको भनाई छ। पछिल्लो समय देशभरका ठूला सहरहरूमा रैथाने कृषि उपजको माग तीव्र रूपमा बढिरहेको भए पनि गाउँ स्तरमा खेती गर्न छोडिए सँगै उत्पादन भने लगातार घट्दै गएको छ। कुनै समय बाजुराका प्रायः प्रत्येक गाउँमा प्रशस्त मात्रामा उत्पादन हुने कागुनो र झुमरो,फापर,उवा,माल मार्से लगायत रैथाने बाली हाल फाटफुट बाहेक देखिनै छोडेको स्थानीय मार्तडीका होटल व्यवसायी दिपक साउँदले बताउनुभयो ।

रैथाने उत्पादन घटेसँगै बजारमा यसबाट बनेका परिकारहरू पाउन समेत मुस्किल हुन थालेको छ। कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार कागुनो, झुमरो, फापर र चिनु जस्ता परम्परागत अन्नबालीको बजार माग उच्च रहे पनि उत्पादन घट्दै जाँदा लोप हुने जोखिम बढेको छ। “परम्परागत खेती जोगाउन अनुदानका कार्यक्रम सञ्चालन गरिए पनि कृषकको आकर्षण बढाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो “उत्पादन वृद्धि र संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा कृषि ज्ञान केन्द्र बाजुरा रहेको उहाँको भनाइ छ।

विशेषज्ञहरूका अनुसार यी अन्नबाली पोषणयुक्त, औषधीय गुणले भरिपूर्ण र जलवायु अनुकूल खेतीका रूपमा चिनिन्छन्। तर युवा पुस्ताको खेतीप्रति घट्दो रुचि, वैकल्पिक आम्दानीका साधनको अभाव र सरकारी सहयोग प्रभावकारी नहुनुका कारण उत्पादन घट्दै गएको हो। स्थानीय तह र सरोकारवाला निकायहरूले समयमै ध्यान नदिए कागुनो, झुमरो र फापर जस्ता पहिचान बोकेका अन्नबाली भविष्यमा पूर्ण रूपमा हराउने खतरा बढ्दै गएको छ।








प्रतिक्रिया राख्नुहोस्