प्रविधिको विकासले हराउँदै गोरु पाल्ने पेशा
पाल्पा । परम्परागत रुपमा प्रचलनमा रहेको गोरु पाल्ने तथा गोरुको सहायताले खेतीपाती गर्ने परम्परा बिस्तारै हराउँदै जान थालेको छ । प्रविधिको विकासले आजभोली गाउँघरमा गोरु पाल्ने चलन निकै कम भइसकेको छ । गाउँघरका किसानको खेतीपातीको मुख्य सहारा मानिने गोरु अहिले आधुनिक कृषि उपकरणको प्रयोगसँगै विस्थापित हुँदै गएका छन् ।
विगतमा हलगोरुबाट यहाँका अधिकांश परिवारको जीवन निर्वाह हुँदै आएको थियो । गोरु पालेर खेती लगाउने समयमा हली व्यस्त हुन्थे । बिहान देखि बेलुकासम्म गोरु खेद्दै जोत्नेहरू भेटिन्थे । तर अहिले समय र प्रविधि दुवै बदलियो । गोरुको विकल्पमा मिनी टिलर र ट्याक्टर आए ।
गोरु पालेर जीविका चलाउनेहरू बेरोजगार भए । भने किसानलाई सुविधासँगै समयको समेत बचत भएको छ । पाल्पामा सबै भन्दा पहिला माडी फाँटमा २०४५ सालमा ट्याक्टर भित्रिएको थियो । पहाडी जिल्ला भएका कारण र भूगोलको संरचनाका कारण ठूलो ट्याक्टर सबै ठाउँमा नपुगे पनि मिनि टिलर हाल सबै जसो किसानहरूको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सन्तोष चौधरीका अनुसार परम्परागत शैलीका तुलनामा आधुनिक प्रविधिबाट खेती लगाउँदा लागत सँगै समयको बचत हुने भएका कारण सरकारले अनुदानको व्यवस्था गरेको छ । गोरुको तुलनामा मिनी टिलर कम लागत हो । पछिल्ला समयमा यो नभएको बस्ती नै छैन । गोरुको तिन दिनको कम पावर टिलरबाट एक दिनमा हुन्छ । त्यसैले यो प्रभावकारी भएको उहाँको भनाई छ ।
गाउँघरमा यदाकदा गोरु पाल्नेहरू पनि देखिन्छन् । रिब्दीकोट गाउँपालिका—३ चकल्दीका ७१ वर्षीय खुम बहादुर घर्तीले सबै ठाउँमा ट्याक्टर नजाने भएकाले गोरु पाल्नु परेको बताउनुभयो । उहाँको मुख्य जीबन धन्ने आधार नै कृषि हो । उहाँले एकहल गोरुको ज्याला २ हजार रुपैयाँ लिने गरेको बताउनुभयो । ट्याक्टर, मिनी टिलर पुग्न नसक्ने ठाउँ र तिनीले नसक्ने काम गोरुले गर्दछ । सिङ्गो गाउँमा गोरु पाल्ने आफु मात्र भएको र गोरु पाल्दा नगद हात पर्ने र मल पनि हुने उहाँले बताउनुभयो ।
यता रिब्दीकोट गाउँपालिका—१ ख्याहाले गोरु पालन गर्नेका लागि अनुदानको व्यवस्था गरेको र अहिले सम्म चार जनाले अनुदान लिएको वार्ड अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । गाउँमा अहिले पनि २५ जनाले गोरु पालेको यहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्