विदेश जान नपाएपछि बाख्रापालन, अहिले गाउँमै आत्मनिर्भर डम्बर
बाँके। वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री स्वास्थ्य परीक्षणमा असफल भएपछि विदेश जान पाएनन् । विदेश जाने योजना सफल नभएपछि स्वदेशमै सुरु गरेको बाख्रापालन व्यवसाय अहिले उनको आत्मनिर्भरताको आधार बनेको छ ।
बुढाक्षेत्रीले अहिले ६० वटाभन्दा बढी स्थानीय खरी जातका बाख्रा पालेका छन् । बाख्रापालनबाट हालसम्म करिब तीन लाख रुपैयाँ आम्दानी गरेका उनले पुरानो ऋण चुक्ता गर्नुका साथै दुई छोराको पढाइ खर्च र घरपरिवारको दैनिक आवश्यकता पूरा गर्दै आएका छन् ।
सुरुमा थोरै सङ्ख्यामा बाख्रा पाल्न थालेका उनले क्रमशः व्यवसाय विस्तार गर्दै लगेका हुन् । वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्ने गरेका बुढाक्षेत्रीले यस वर्ष पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने उनको योजना छ ।
बाख्रा बिक्रीका लागि बजारको समस्या नरहेको उनी बताउँछन् । सहकारीले खसी खरिद गर्नुका साथै आवश्यक पर्दा अग्रिम रकमसमेत उपलब्ध गराउने भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उनको भनाइ छ ।
बाख्रापालनको यात्रा भने उनका लागि सहज थिएन । पारिवारिक समस्याका कारण केही समय व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताउनुपरेको थियो । बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न उनी भारत गएका थिए ।
स्वदेश फर्किएपछि पुनः पशुपालनमा सक्रिय भएका उनले सुरुमा आठवटा भैँसीसमेत पालेका थिए । पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिए । अहिले यही व्यवसायबाट ऋण चुक्ता गर्न सफल भएको उनी बताउँछन् ।
“म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,” बुढाक्षेत्रीले भन्नुभयो ।उनका लागि बाख्रापालन आम्दानीको स्रोत मात्र बनेको छैन, पारिवारिक जिम्मेवारी पूरा गर्ने र स्वदेशमै बसेर आत्मनिर्भर बन्ने आधारसमेत बनेको छ । वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै क्षमता, सीप र अवस्थाअनुसार स्वदेशमै व्यवसाय गर्न सकिने उनको अनुभव छ ।
बाख्रापालन गर्न चाहनेलाई आफ्नो आर्थिक क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्न सुझाव दिँदै उनले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्न नहुने बताउँछन् ।
स्थानीय खरी जातका बाख्राको सङ्ख्या बढाउँदै व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेका बुढाक्षेत्री अहिले आफ्नै गाउँमा बसेर परिवारको खर्च धान्न सफल भएका छन् । वैदेशिक रोजगारीको विकल्प खोज्दै सुरु गरेको उनको बाख्रापालन व्यवसाय स्वदेशमै श्रम र लगानी गरेर आत्मनिर्भर बन्न सकिने ग्रामीण उद्यमशीलताको एउटा उदाहरण बनेको छ ।






प्रतिक्रिया राख्नुहोस्