तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन् । यसअघि असोजमा ११ हजार ९३०, भदौमा छ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए ।

पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button