तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीको हरित विद्यालय र बालमैत्री शिक्षण प्रणालीको मन्त्री पोखरेलद्वारा अवलोकन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुग्नुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गर्नुभएको छ । 

एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई विशेष महत्व दिँदै स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराउनुभएको हो । मन्त्री पोखरेलले पनि टर्कीको बालमैत्री, प्रकृतिमैत्री र प्रयोगात्मक सिकाइ प्रणालीप्रति चासो राख्दै त्यसका व्यवस्थापकीय पक्षबारे सूक्ष्म जानकारी लिनुभएको हो ।

भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीहरू एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बाल विकास केन्द्र’ (किन्डरगार्टन) पुग्नुभएको थियो । उक्त अवलोकन भ्रमणमा दुवै देशका मन्त्रीहरूसँगै टर्कीको सत्तारुढ दल एके पार्टीका प्रान्तिय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओइसीडी लगायतका अन्तर्राष्ट्रिय निकायका उच्च प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले औपचारिक कक्षा कोठाको सिकाइभन्दा बाहिर निस्किएर सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको जीवनशैलीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जिज्ञासा राख्नुभएको थियो । 

उहाँले विद्यालय परिसरमा सञ्चालित कार्यशाला (वर्कसप) तथा बिरुवा उत्पादन क्षेत्रको निरीक्षण गर्दै बालबालिकाहरूले तयार पारेका ‘शून्य फोहर’ परियोजना, पुन प्रयोग (रिसाइकल) अभ्यास र मिनी ग्रीनहाउस (नर्सरी) मा गोलभेँडा लगायतका तरकारी तथा बिरुवा उमारिएको प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिनुभएको थियो ।

सोही अवसरमा टर्किस शिक्षामन्त्री तेकिन र मन्त्री पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकहरूसँग संवाद गर्दै पूर्व–प्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारको आवश्यकता र अभिभावक–विद्यालय सहकार्यका अभ्यासबारे समेत छलफल गर्नुभएको थियो । 

भ्रमणका क्रममा बाल विकास केन्द्रका साना विद्यार्थीहरूले अतिथिहरूको स्वागतमा परम्परागत टर्किस लोक नृत्य प्रस्तुत गरेका थिए । दुवै देशका शिक्षामन्त्रीहरूले बिरुवा रोपिरहेका तथा सांस्कृतिक प्रस्तुति दिने बालबालिकाहरूको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग भलाकुसारीसमेत गर्नुभएको थियो । 

उक्त भ्रमणमा टर्किस परम्पराअनुसार पालुङ्गो साग राखेर बनाइएको स्थानीय परिकार ‘इस्पानक्ली गोज्लेमे’ र चियासहित आतिथ्य प्रदान गर्नुका साथै फूलको गुच्छा दिएर बिदाइ गरिएको थियो ।

टर्कीको व्यावहारिक ‘हरित विद्यालय’ र बाल विकास केन्द्रको अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको प्रेम, शून्य फोहरको बानी र जलवायु सचेतना जगाउन सके भविष्यको पुस्ता स्वतः वातावरणमैत्री र विपद् उत्थानशील बन्ने धारणा राख्नुभयो । 

नेपालमा पनि पूर्व–प्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने गरि काम भइरहेको मन्त्री पोखरेलले बनाउनुभयो । जसमा टर्कीको यो मोडलबाट पनि कतिपय कुरा सिक्न सकिने निष्कर्ष उहाँको थियो ।

नेपालमा भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कनसँगै ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गरी विद्यालय तहको पाठ्यक्रममै जलवायु परिवर्तन र विपद् व्यवस्थापनको शिक्षा एकीकृत (इन्टिग्रेट) गर्ने प्रक्रिया अघि बढाइसकिएको सन्दर्भमा टर्किस समकक्षीसँगको यो भेटघाट, स्थलगत अवलोकन र अनुभव आदानप्रदानबाट नेपालको विद्यालय शिक्षा सुधार र हरित विद्यालय निर्माणमा थप टेवा पुग्ने विश्वास मन्त्री पोखरेलको छ ।

“टर्कीमा हरित विद्यालय र बाल विकासलाई जसरी प्राथमिकता दिएर अभ्यास गरिएको छ, त्यसैगरी हाम्रा विद्यालयलाई पनि पर्यावरणमैत्री र बालमैत्री सिकाइको बलियो आधारसहित रूपान्तरण गर्ने गरी काम गरिरहेका छौँ, “मन्त्री पोखरेलले भन्नुभयो, “टर्कीको यो अनुभवबाट पनि हामीले थप सिक्न सक्छौँ । हामीले यसमा गृहकार्य पनि थालिसकेका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button