सिमी नफलेपछि मुगुका कृषक चिन्तित
मुगु । यस वर्ष मुगुका उच्च भेगका कृषकले लगाएको सिमीमा अपेक्षाअनुसार दाना नलागेपछि उत्पादनमा कमी आउने भएको छ। सिमीका बोट हरिया देखिए पनि पर्याप्त फूल र कोसा नलाग्दा कतिपय बोट रित्तै रहेका छन्। वर्षभरि मेहनत र लगानी गरेर खेती गरेका कृषकले यस वर्ष सिमीबाट अपेक्षित उत्पादन लिन नसक्ने भएपछि चिन्तित बनेका छन्।

मुगुका ग्रामीण भेगका कृषकका लागि सिमी खाद्यान्न र आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको छ। घरायसी उपभोगसँगै बजारमा बिक्री गरेर आम्दानी गर्ने माध्यम समेत बनेको सिमी यस वर्ष नफलेपछि कृषकको खाद्य सुरक्षा र आर्थिक अवस्थामा असर पर्ने देखिएको छ।
छायानाथ रारा नगरपालिका–६ कोटिल्लाका स्थानीय कृषक जङ्ग ऐडीले यस वर्ष सिमीका बोटमा अपेक्षाअनुसार फल नलागेको बताउनुभयो। खेतीमा मेहनत र लगानी गरे पनि बोटमा कोसा नलाग्दा उत्पादनमा ठूलो गिरावट आउने उहाँले बताउनुभयो ।
त्यस्तै, छायानाथ रारा नगरपालिका–७ टोप्लाका कृषक पर्वुजङ्ग शाहीले पनि यस वर्ष सिमी खेतीबाट राम्रो उत्पादन हुने अवस्था नरहेको बताउनुभयो। वर्षभरि दुःख गरेर लगाएको सिमीमा दाना नलाग्दा कृषकको मेहनत खेर गएको उहाँको भनाइ छ।
छायानाथ रारा नगरपालिका–३ हेर्निकाँदका स्थानीय शिक्षक रङ्गबहादुर कार्कीले यस वर्ष सिमी उत्पादन नहुँदा घरायसी उपभोगका लागि दाल समेत बजारबाट खरिद गर्नुपर्ने अवस्था आएको बताउनुभयो। ग्रामीण भेगका उच्च बस्तीहरू लिउडी, मुन्दु कोटिल्ला, तलिलेक, लुवारपोल्ना, सोभा, रोवा, रेङ्चेकाटी, खमाले, माथि र तलि तुम, तालणच, पिना, झ्यारी, सिगाडी, सोरूका उच्च बस्तीहरू र मुगुमकार्मारोङमा सिमी खेती गरिँदै आएको थियो । स्थानीय कृषक हरूको खाद्यान्न आम्दानीको मुख्य श्रोतको रूपमा रहेको सिमी नफलेपछि कृषकले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने उहाँले बताउनुभयो।
स्थानीय उत्पादनका रूपमा परिचित मुगुको सिमी जिल्लाभित्र मात्र नभई बाहिरी बजारमा समेत बिक्री हुने गरेको छ। यस वर्ष उत्पादनमा कमी आउने भएपछि घरायसी उपभोगका लागि आवश्यक सिमीको जोहो गर्नसमेत कठिन हुने र बिक्रीबाट आम्दानी गर्ने कृषकको आयस्रोतमा समेत असर पर्ने देखिएको छ।








प्रतिक्रिया राख्नुहोस्