सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता: सभामुख अर्याल

बारा । सभामुख डोलप्रसाद अर्यालले समाजमा सुशासन कायम गर्दै सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
बारामा नवनिर्मित कृष्ण मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा आज सभामुख अर्यालले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान सहभागिता र उपस्थितिको अधिकार रहेको उल्लेख गर्नुभयो ।

जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने नेपालको उदाहरणीय विशेषता भएको सभामुख अर्यालको भनाइ छ ।
उहाँले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि संवाद, सहकार्य र समन्वयमार्फत नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्नुपर्ने बताउनुभयो।

सभामुख अर्यालले संघीय संसद् कानुन तथा नीति निर्माण गर्दा नेपालका सबै धर्म, संस्कृति, जातजाति र भाषालाई समेट्ने विषयमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्