छठ पर्वको सुरक्षाका लागि रौतहटमा ६१० प्रहरी परिचालन
रौतहट । छठ पर्वका अवसरमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि रोक्न रौतहट प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन प्रहरीले ६१० जना सुरक्षाकर्मी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीका अनुसार जिल्लाका विभिन्न स्थानमा आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको हो ।
छठ पर्वका बेला अधिकांश परिवारका सदस्य व्रत तथा पूजाका लागि नदी, पोखरी र जलाशय किनारमा बनाइएका घाटमा जाने भएकाले गाउँघर सुनसान हुने अवस्थालाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो ।
घरमा मानिसको उपस्थिति कम हुने समयमा चोरी तथा अन्य आपराधिक घटना हुन सक्ने जोखिम रहेकाले सादा पोसाकका प्रहरीसहित विभिन्न टोली परिचालन गरिएको प्रवक्ता शाहीले जानकारी दिनुभयो ।
त्यसैगरी, छठघाटमा महिला श्रद्धालु गरगहना लगाएर पूजाआजाका लागि जाने भएकाले गरगहना चोरी, लुटपाट तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले विशेष निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटमा यस वर्ष ३०८ स्थानमा छठघाट निर्माण गरी पर्व मनाइँदैछ । ठूलो सङ्ख्यामा श्रद्धालु एकैपटक घाटमा भेला हुने भएकाले भीड व्यवस्थापन, शान्तिसुरक्षा र सम्भावित जोखिम नियन्त्रणलाई प्राथमिकता दिँदै सुरक्षा योजना कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।
पर्वका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले निगरानी र गस्तीलाई समेत तीव्रता दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्