तपाईँ सुन्दै हुनुहुन्छः

बाजथला भिरको बाटो मर्मत नहुँदा सास्ती, विद्यार्थी र किसान प्रभावित

मुगु। छायाँनाथ रारा नगरपालिका–२ स्थित बाजथला भिरको बाटो वर्षायाममा गएको पहिरोले क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको छ । बाटो मर्मत नहुँदा गमगढी बजार आउजाउ गर्न, गाउँमा उत्पादित तरकारी बजार पुर्‍याउन र विद्यार्थीलाई विद्यालय जानसमेत कठिनाइ भएको छ ।

वर्षायाममा पहिरो गएर भत्किएको बाटो अहिलेसम्म मर्मत हुन सकेको छैन । साँघुरो र बिग्रिएको भिरको बाटोमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता स्थानीयवासीलाई छ । यही बाटो हुँदै वनपाखामा पशुचौपाया चराउन लैजानसमेत समस्या हुने गरेको छ ।

छायाँनाथ रारा नगरपालिका–३ का स्थानीय शिक्षक रंगबहादुर कार्कीका अनुसार बाटोको दुरवस्थाले गाउँलेको दैनिक जीवन प्रभावित भएको छ । विशेषगरी विद्यार्थीलाई विद्यालय आउन–जान कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । बाटो जोखिमपूर्ण हुँदा बालबालिकाको आवतजावतमा समेत समस्या हुने गरेको उहाँको भनाइ छ ।

त्यस्तै, हेर्निकाँद गाउँका डबल रोकायाले गाउँमा उत्पादित तरकारी गमगढी बजारसम्म पुर्‍याउन कठिन भएको बताउनुभयो । बाटो बिग्रिएका कारण किसानले उत्पादन गरेको तरकारी बजारसम्म लैजान समस्या भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासीका लागि बाजथला भिरको बाटो गमगढी बजारसँग जोडिने महत्वपूर्ण मार्ग हो । यो बाटो सहज नहुँदा विद्यार्थीको पढाइ, किसानको उत्पादन बिक्रीवितरण, दैनिक आवतजावत र पशुपालनका काम प्रभावित भइरहेका छन् ।

वर्षायाममा क्षतिग्रस्त भएका ग्रामीण सडक समयमै मर्मत नहुँदा स्थानीयवासीले सामान्य आवतजावतका लागि समेत सास्ती खेप्नुपरेको छ । स्थानीयले सम्बन्धित निकायसँग बाजथला भिरको बाटो तत्काल मर्मत गरी सुरक्षित आवागमनको व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button