डोटीमा ब्रेक फेल भएर बोलेरो जिप पल्टिँदा ११ जना घाइते
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–६ स्थित सिलगढी–बगलेक भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
शुक्रबार साँझ साढे सात बजे बगलेकबाट सिलगढीतर्फ आउँदै गरेको से १ ज ४७३ नम्बरको बोलेरो जिपको ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–५ का ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मध्यम घाइते हुनेमा ५५ वर्षीय रविन्द्र बाघचन, ५३ वर्षीया सत्यदेवी बाघचन, ३१ वर्षीय दिपेन्द्र देवाल र ११ वर्षीय बर्मान नेपाली रहेका छन् ।
त्यस्तै, सामान्य घाइते हुनेमा १३ वर्षीय संजय राजत, २६ वर्षीया अञ्जली बब्सन, १२ वर्षीय हेन्सन न्यौपाने, ११ वर्षीय अरमान सिंह, ४० वर्षीया सम्झना टेलर, १४ वर्षीय ग्रेट नेपाली र ३८ वर्षीय सन्तोष देउजा रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ ।दुर्घटनापछि प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका जिप चालक चार्जर लामिछानेलाई राति ८ बजेर ५५ मिनेटमा नियन्त्रणमा लिइएको छ । दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्