मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, ५ जना घाइते
धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ की सुशिला बम रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
हुलाकी राजमार्ग अन्तर्गत धनगढी–१५ मा गएराति से ४ प ४५८५ नम्बरको मोटरसाइकल र सु.प.प्र. ०२–००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१४ का प्रवीण चौधरी, उनकी श्रीमती अञ्जली चौधरी र छोरी ममता चौधरी घाइते भएका छन् । यस्तै, स्कुटरमा सवार सरोज मल्ल र बबिता मल्ल पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते पाँचै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्