तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर बस दुर्घटना: सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गर्दै घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।   

कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।   

काठमाडौँ–सर्लाही रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन बिहीबार बिहान अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। छठ पर्व मनाउन घर फर्कने क्रममा दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको विज्ञप्तिमा उल्लेख छ।   

घाइतेहरूको स्वास्थ्योपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिअनुसार घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।   

यसैगरी, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।   

सरकारले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button