तपाईँ सुन्दै हुनुहुन्छः

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका

म्याग्दी । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् ।

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक अर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिनुभयो । बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सभापति शाक्यले व्यक्तिगत रूपमा पूजा सामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटिका कार्यक्रम आयोजना गर्नुभएको हो । विगत चार वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटिका कार्यक्रम आयोजना हुँदै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button