तपाईँ सुन्दै हुनुहुन्छः

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली (तनहुँ) । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन् ।

बन्दीपुर गाउँपालिका–१ निवासी सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र फूलको माला लगाइदिनुभएको हो ।

नेपाली चाडपर्व, संस्कार र संस्कृतिबारे जानकारी लिन इच्छुक चिनियाँ पर्यटकले भ्रमणकै क्रममा भाइटीका लगाउने अवसर पाउँदा खुसी व्यक्त गरेका छन् ।

मङ्गलबार बन्दीपुर आइपुगेका पर्यटकले नेपालीले मनाउने भाइटीकाबारे स्थानीयसँग जिज्ञासा राखेका थिए । त्यसपछि स्थानीय बसन्त पौडेलले उनीहरूलाई भाइटीकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी गराउनुभएको थियो ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने, फूलको माला पहिराइदिने तथा दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा रहेको उहाँले जानकारी गराउनुभएको थियो ।

भाइटीकाको महत्त्व र विधिबारे जानकारी पाएपछि चिनियाँ पर्यटकले पनि टीका लगाउने इच्छा व्यक्त गरेका थिए । त्यसपछि स्थानीय सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई भाइटीका लगाइदिनुभएको थियो । नेपाली परम्पराअनुसार टीका र फूलको माला लगाएपछि पर्यटकहरू रमाएका थिए ।

स्थानीय पौडेलका अनुसार पर्यटकले भाइटीकाबारे चासो राखेपछि उनीहरूलाई नेपाली संस्कृतिसँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले टीका लगाउने व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो, “उहाँहरू बन्दीपुर घुम्न आउनुभएको थियो । नेपालीको भाइटीका पर्वबारे जिज्ञासा राख्नुभयो । त्यसपछि मैले भाइटीकाको महत्त्व र सांस्कृतिक पक्षबारे जानकारी गराएँ । जानकारी पाएपछि उहाँहरूले पनि टीका लगाउने इच्छा देखाउनुभयो । स्थानीय दिदीबहिनीले टीका लगाइदिएपछि उहाँहरू निकै खुसी हुनुभयो ।”

उहाँका अनुसार कुनै पनि देशको भ्रमण गर्दा पर्यटकीयस्थल र प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै त्यहाँको संस्कृति, रहनसहन र परम्पराबारे बुझ्ने अवसर पनि प्राप्त हुन्छ । बन्दीपुर आएका पर्यटकलाई नेपाली चाडपर्वको अनुभव गराउन पाउँदा स्थानीयवासी पनि उत्साहित भएको उहाँले बताउनुभयो ।

भाइटीका लगाएर नेपाली संस्कृतिमा सहभागी हुन पाउँदा चिनियाँ पर्यटकले खुसी व्यक्त गरेका थिए । फरक देशको संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएको उनीहरूको प्रतिक्रिया थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button