तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर–रंगेली हुलाकी सडकखण्डका पुल साँघुरा हुँदा सवारी साधन आवतजावतमा समस्या

विराटनगर । विराटनगर–रंगेली हुलाकी सडकखण्ड चार लेन तथा छ लेनमा विस्तार भएका छन् । हुलाकी सडक अन्तर्गत पर्ने  सो सडक विस्तार भए पनि सडकका पुलहरू भने साँघुरा छन् ।

सडकखण्डको वक्राहा, चिंसाग, लोेहन्द्रा, सिघिंया, जुडि, चेकाहा खोलाका पुल तथा सडक कल्भर्डहरु हुलाकी सडकखण्डको मापदण्ड अनुसार फराकिला र विस्तार नहुँदा  सवारी साधनको आवतजावतमा समस्या हुन थालेको हो । 

हुलाकी सडक विस्तार हुनु अघि नै बनेका सो पुलहरू सिङ्गल लेनको हुँदा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको सवारी चालकहरूको भनाई छ । सडक खण्डको जहदाको रामचौकस्थित  लोहोन्द्रा खोलाको पुल भने जीर्ण अवस्थामा  छ । 

पुलबाट एक पटकमा एउटा मात्र बस तथा ट्रक लगायतका ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।  पुलको दायाँबायाँ छ लेन र चार लेनको सडक विस्तार भए पनि पुल भने सिङ्गल लेनको  हुँदा आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाई छ ।

 

सडक फराकिलो हुने तर पुल साँघुरो हुँदा तीव्र गतिमा आएका सवारीसाधन पुलनजिक पुग्दा एकाएक रोकिनुपर्ने तथा गति कम गर्नुपर्ने अवस्था छ। यसले गर्दा सडकमा लामो जाम हुने गरेको रंगेली–विराटनगर सडकखण्डमा यात्रुवस चलाउँदै आउनुभएका सन्तोष राजवंशीको भनाई छ । 

झन्डै ३०–३५ वर्षअघि निर्माण गरिएका पुलहरू साँगुरो हुन थालेकाले सडक अनुसार पुल फराकिलो बनाउनुपर्ने उहाँको भनाई छ । 

विराटनगरदेखि नयाँ  बजारको जुडी खोलाको पुलसम्मको साढे चार किलोमिटर सडक बाहेक विराटनगर–रंगेली सडकखण्डअन्तर्गत हुलाकी सडकको प्राय सबै काम सम्पन्न भए पनि पुल निर्माण तथा विस्तारको काम भने हुन नसकेको राजवंशीको भनाई छ ।

मोरङ जहदाका सिटी चालक देबीलाल साहले सडकहरू चिल्ला र फराकिला भए पनि पुल साँघुरा भएकाले दुर्घटनाको जोखिम बढेको भन्दै पुल फराकिला बनाउनुपर्ने बताउनुभयो ।

सिरहा र सप्तरीलगायतका जिल्लामा हुलाकी सडकमा निर्माण गरिएका पुराना र साँगुरा  पुलहरू विस्तार गर्न थालिएको छ । सो जिल्लामा सडकको मापदण्ड अनुसार नयाँ पुल निर्माण गर्न थालिए पनि  मोरङको पूर्व–पश्चिम हुलाकी सडकमा नयाँ पक्की पुल निर्माणको काम भने हुन सकिरहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button