स्याफ्रुबेँसीमा काठे पुल निर्माण, आवतजावतमा सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो ।
गोसाईंकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो ।
नेपाल रेडक्रस सोसाइटी, गोसाईंकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा उक्त काठेपुल निर्माण गरिएको हो ।
यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडक खण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । लामो समयसम्म यातायात र पैदल मार्गसमेत अवरुद्ध हुँदा गोसाईंकुण्ड गाउँपालिका ९वडा नं १ देखि ५० र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५)का सर्वसाधारणले ठुलो सास्ती खेप्दै आएका थिए ।
बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठे पुलसमेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो ।
हाल संयुक्त प्रयासमा काठेपुल पुनः खडा गरिएपछि दुवै गाउँपालिकाका बासिन्दा तथा सो क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई पैदल आवतजावतका लागि निकै राहत मिलेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)ले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्