पोखरामा पुष्प व्यापार मेलाबाट एक करोड रुपैयाँ बराबरको कारोबार

पोखरा । पोखरामा आयोजित तेस्रो सयपत्री फूल मेलाबाट करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
तिहारलाई लक्षित गरी पोखरा रङ्गशालामा आयोजना गरिएको पुष्प व्यापार मेलामा फूल, फूलका माला, नर्सरीका बिरुवा तथा फूल खेतीसँग सम्बन्धित कृषि सामग्रीको बिक्रीबाट उक्त मूल्य बराबरको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीले जनाएको छ ।
मेलाको अन्तिम दिन सोमबारसम्म करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको फ्यान कास्कीका अध्यक्ष श्रीराम सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्मीपूजासम्म मेलामा करिब ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मेलाको अन्तिम दिन मात्रै करिब २० लाख रुपैयाँ बराबरको फूल तथा फूलजन्य सामग्री बिक्री भएको उहाँले बताउनुभयो ।
मेला स्थलमा भएको बिक्री तथा मेलामा आएका ग्राहकले विभिन्न नर्सरीमा अग्रिम अर्डर गरेका फूल, बिरुवा र फूल खेतीसँग सम्बन्धित सामग्रीको कारोबारसमेत जोड्दा कुल कारोबार एक करोड रुपैयाँ पुगेको सुवेदीले बताउनुभयो । यस वर्ष मौसम अनुकूल हुनुका साथै मेलामा दर्शक तथा ग्राहकको सहभागिता पनि अपेक्षाकृत राम्रो रहेको उहाँको भनाइ छ ।
तिहारमा सयपत्री फूलको माग बढ्ने समयलाई लक्षित गरी आयोजना गरिएको मेलामा स्थानीय कृषकले उत्पादन गरेका फूलको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो । मेलाले स्थानीय कृषकलाई आफ्नो उत्पादनको बजारीकरण गर्न र उपभोक्तालाई स्थानीय फूल सहज रूपमा उपलब्ध गराउन सहयोग पुगेको आयोजकले जनाएको छ ।
मेलाका अवसरमा पोखरा महानगरपालिका–१३ का कृषक नरेन्द्रप्रसाद अधिकारीलाई पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल खेती गर्ने कृषकका रूपमा सम्मान गरिएको थियो । करिब १० रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आउनुभएका अधिकारीलाई सम्मान पत्रसहित नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । उहाँलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सम्मान गर्नुभएको थियो ।
त्यसैगरी, करिब तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आउनुभएका कृषक सोवितबहादुर अधिकारी दोस्रो र नन्दकली घर्ती मगर तेस्रो हुनुभएको थियो । दोस्रो हुनेलाई नगद सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
मेलामा फूलको माला बुन्ने प्रतियोगिता तथा उत्कृष्ट फूल स्टल प्रदर्शनीसमेत आयोजना गरिएको थियो । उक्त प्रतियोगिता तथा प्रदर्शनीमा रमेशकुमार श्रेष्ठ उत्कृष्ट हुनुभएको थियो । उहाँको स्टलमा नयाँ जातको ‘टेनिस बल’ नामक सयपत्री फूलसमेत प्रदर्शनीमा राखिएको थियो ।
यसैबीच, तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीय स्तरमा उत्पादित सयपत्री फूलको बिक्री वितरण व्यवस्थित बनाउन १७ वटा बिक्री केन्द्र तोकेको छ । महानगरपालिकाले कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको छ ।
स्थानीय कृषकले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्न तथा उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्रको व्यवस्था गरिएको महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्