तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको पिपरडारीमा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौँको क्षति

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपरडारीमा लक्ष्मी पूजा गर्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार राति स्थानीय कमलेश साहको कच्ची घरमा विद्युत्  सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

राति घरका मानिसहरू लक्ष्मीपूजामा व्यस्त रहेका बेला अचानक आगो लागेको थियो । आगलागीबाट घरसँगै घरभित्र रहेका फर्निचर, साइकल, टेन्ट, खाद्यान्न, भाडा बर्तन, नगदजिन्शी लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट अन्दाजी सात लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको पीडित कमलेश साहले जानकारी दिनुभयो । 

आगो गए राति नै स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । 

घटनाको जानकारी भए लगत्तै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले आज बिहान घटनास्थलको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा अध्यक्ष यादवले आगलागीबाट पीडित साह परिवारलाई तत्कालका लागि गाउँपालिकाको तर्फबाट आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button