धनकुटामा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली

धनकुटा । नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा धनकुटामा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ । नेवारी कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नेवारी समुदायले र्याली आयोजना गरेको हो । धनकुटा नगरपालिका वडा नंं. ५ तल्लो कोप्चेस्थित कृष्ण कम्पनीबाट सुरु भएको र्यालीले तल्लो कोप्चे, माथिल्लो कोप्चे, बालमन्दिर हुँदै धनकुटा बजारको परिक्रमा गरेको थियो । र्यालीमा नेवारी संस्कृति झल्काउने सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा र बाजागाजासहित समुदायका सदस्यहरूको सहभागिता थियो ।
नेपाल संवत्को नयाँ वर्ष नेवार समुदायका लागि सांस्कृतिक पहिचान, मौलिक परम्परा र सामाजिक एकताको प्रतीकका रुपमा रहँदै आएको छ । यस अवसरमा निकालिने भिन्तुना र्यालीले पुर्खादेखि चलिआएको संस्कृति, भेषभूषा, कला र बाजागाजाको संरक्षण गर्नुका साथै समुदायबीचको आत्मीयता र एकतालाई बलियो बनाउने तल्लो कोप्चेका देवेन्द्र प्रधानले बताउनु भयो ।

धनकुटामा हरेक वर्ष नेपाल संवत्को नयाँ वर्षको स्वागतमा नेवारी समुदायले मोटरसाइकल र्याली निकाल्दै आएको छ। परम्परागत सांस्कृतिक उत्सवलाई आधुनिक पुस्ता र युवासँग जोड्ने माध्यमका रुपमा समेत र्यालीलाई लिइएको छ । मोटरसाइकल र्यालीमार्फत नयाँ वर्षको शुभकामना तथा भिन्तुनाको सन्देश बजार र समुदायका विभिन्न क्षेत्रमा पुर्याउनुका साथै उत्सवमा युवाको सहभागिता बढाउने प्रयास गरिएको आयोजक संयोजक शम्भु प्रधानले बताउनु भयो ।
नेवारी समुदायले हरेक वर्ष आयोजना गर्दै आएको यस्तो सांस्कृतिक गतिविधिले धनकुटाको मौलिक पहिचान जोगाउन र नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति तथा परम्पराप्रति आकर्षित गर्न सहयोग पुग्ने संयोजक प्रधानको भनाइ छ ।













प्रतिक्रिया राख्नुहोस्