तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नेपालको मौलिक भाषामा ‘ओ मेरा छोर्याट्टि’, नेपालगञ्जमा म्युजिक भिडियो सार्वजनिक

बाँके । चर्चित गायक सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ नेपालगञ्जमा सार्वजनिक गरिएको छ। पश्चिम नेपालको मौलिक भाषामा तयार गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै कार्यक्रममा उपस्थित दर्शक गीतको सङ्गीत र प्रस्तुतिमा झुम्मिएका थिए।

बास नेपालको समन्वयमा आयोजित गीत सार्वजनिक तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवं प्रमुख अतिथि ओमप्रकाश शर्माले म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

गीत सार्वजनिकपछि गायक ठकुरीले स्टेजमा गीतको लाइभ प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिमा म्युजिक भिडियोकी मोडल करिष्मा शाही ठकुरीसमेत स्टेजमा आएर नृत्य गर्न थालेपछि कार्यक्रमस्थल सङ्गीतमय बनेको थियो। गायकको लाइभ प्रस्तुति र मोडलको नृत्यले उपस्थित सहभागीलाई थप उत्साहित बनाएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नयाँ प्रतिभाको गीत तथा सङ्गीत क्षेत्रमा बढ्दो लगाव सुखद रहेको बताए। उनले सार्वजनिक गीतले सबैको मन जित्न सफल होस् भन्दै शुभकामना व्यक्त गरे ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्राज्ञ तथा बास नेपालका सल्लाहकार किरण आचार्यले गीत र म्युजिक भिडियोले पश्चिम नेपालको पहिचान झल्काएको बताइन्।

बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्थाले स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा भूमिका निर्वाह गर्नु सकारात्मक भएको बताए। अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले सुदूरपश्चिमको कला र संस्कृति समेटिएको गीतको सफलताको शुभकामना व्यक्त गरे ।

गीत सार्वजनिक तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। गीत सार्वजनिकसँगै गायक ठकुरीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button