चितवनद्वारा पोखरासामु १५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५१ रन बनायो ।
चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । रवि बोपाराले ३५, अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान दुई–दुई विकेट लिए ।
जारी प्रतियोगितामा पोखरा जितविहीन छ । तीन खेल खेलेको पोखराले तीनै खेलमा पराजय भोगेको छ । कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ ।
यता चितवन पनि पोखरालाई हराएर अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न चाहन्छ । चार खेल खेलेको चितवनले दुईमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्