तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरो जाँदा थुनियो दिन्द्रुक खोला, २०० मिटर क्षेत्रफलमा बन्यो ताल

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित दिन्द्रुक खोलामा सुख्खा पहिरो जाँदा खोला थपिएर करिब २०० मिटर क्षेत्रफलमा ताल बनेको छ।

प्राप्त विवरण अनुसार बिहीबार दिउँसो करिब १२:४० बजे लार्केबजारबाट करिब २.५ किलोमिटर उत्तरतर्फ लार्केबजार र धर्मशालाको बीचमा बहने दिन्द्रुक खोलामा अन्दाजी ३० मिटर माथिबाट सुख्खा पहिरो खसेको हो। पहिरो खोलामा खसेपछि खोलाको बहाव थुनिएर ताल बनेको र हाल तालको एक किनारबाट पानी बगिरहेको छ।

पहिरोका कारण हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी सामागाउँबाट प्रहरी सहायक निरीक्षक  कनैया लाल बारीको कमाण्डमा ३ जनाको नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल (APF) को टोली सतर्कताका साथ घटनास्थलमा पुगेको छ। उक्त स्थान सामागाउँ प्रहरी चौकीबाट करिब १० किलोमिटर उत्तर-पश्चिम दूरीमा पर्छ।

प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै स्थितिमाथि निरन्तर निगरानी राखिरहेको प्रहरी नायव निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button