तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सुरु: उजुरीकर्ताहरूसँग समितिको छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरु भएको छ । 

समितिको आजको बैठकमा प्रस्तावित न्यायाधीशहरुविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको  छ ।

प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्धको उजुरीकर्ता सुवास ढकालले झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रस्तावित न्यायाधीश पाण्डेकी श्रीमती माया पुरी पाण्डेसमेत संलग्न रहेको  बैठकलाई जानकारी गराउनुभयो । 

व्यक्तिको नामा सारिएको जग्गा दोषी ठहर्‍याएर सरकारीकरण गरेको प्रमाणसहित उपस्थित हुनुभएका ढकालले उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको समेत स्पष्ट गर्नुभयो । 

त्यस्तै प्रस्तावित अर्का न्यायाधीश चन्द्रबहादुर सारुमाथि काभ्रे जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर्‍याएको आरोपसहित पीडित पक्षका तर्फबाट संसदीय सुनुवाइ समितिमा उपस्थित हुनुभएका विनोद संजेलले त्यस्तो व्यक्तिलाई  न्यायालयको सर्वोच्च निकायमा नियुक्त नगर्न समितिलाई आग्रह गर्नुभयो । 

त्यस्तै अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीविरुद्ध उजुरी दिनुभएका दाङ जिल्लाका टेकराज न्यौपानेले आफ्नो जग्गा हिनामिना गरेको  आरोप लगाउनुभयो । 

बैठकमा वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्याय परिषद्ले गरेको सिफारिस, न्यायाधीशहरूको योग्यता, राजनीतिक पृष्ठभूमि र आचरणमाथि प्रश्न उठाउँदै नियुक्तिसम्बन्धी सम्पूर्ण फाइल झिकाएर अध्ययन गर्न समितिलाई सुझाव दिनुभयो । 

बैठकमा समितिका सांसदहरु आनन्दप्रसाद ढुङ्गाना, वर्षमान पुन, पद्मा अर्याल, मुध चौलागाइ, डा. लेखजंग थापालगायतले उजुरीकर्ताले दिएका प्रमाणहरूले  प्रस्तावित न्यायाधीशहरूका बारे निर्णय गर्न सहज हुने बताउनुभयो । 

संसदीय समितिले आजै उजुरी कर्तासँगको छलफल सकेर प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग  छलफल गर्ने कार्यसूची रहेको छ ।

न्यायपरिषद्ले गत असोज २० गते रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button