स्वच्छ नगर निर्माण अभियान: विद्यार्थीलाई वातावरणमैत्री संस्कार सिकाइँदै

सोलुखुम्बु । विद्यार्थीलाई सानै उमेरदेखि वातावरण संरक्षण र फोहोर व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान दिने उद्देश्यले सोलुखुम्बुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका १४ वटा विद्यालयलाई लक्षित गरी सञ्चालित अभियानअन्तर्गत आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो ।

घर तथा विद्यालयबाट निस्कने फोहोरको उचित व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरबारे बालबालिकालाई सचेत गराउन यो अभियान थालिएको हो । शेर्पा बालबालिका सहायता सङ्घको पहल तथा सोलुदुधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु च्यामको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा विद्यार्थीलाई जलवायु परिवर्तनका असर तथा न्यूनीकरणका उपायबारे जानकारी गराइएको छ ।
कार्यक्रममा विद्यालय र घरबाट निस्कने फोहोरको वर्गीकरण, जथाभाबी फोहोर नफाल्ने बानी तथा सही विसर्जन विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो । साथै, वातावरण स्वच्छ राख्न वृक्षारोपण गर्ने र नियमित सरसफाइ अभियानमा सहभागी हुन विद्यार्थीलाई प्रेरित गरिएको छ । सफा नगर निर्माणको लक्ष्यसहित विगत तीन वर्षदेखि सञ्चालनमा रहेको यस परियोजनाले नगरपालिका क्षेत्रभित्र फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ ।
गत कात्तिक १० गतेदेखि सुरु भएको यो चरणको अभिमुखीकरण आज शुक्रबार सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा सोलु च्याम फ्रान्सका सदस्य बार्टी तथा शेर्पा बालबालिका सहायता संघका कार्यक्रम संयोजक सन्तबहादुर मगरले अभिमुखीकरणमार्फत विद्यार्थीलाई दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन र सरसफाइमा जिम्मेवार बन्न प्रोत्साहन गरिएको बताउनुभयो ।
विद्यार्थीमा सानैदेखि वातावरणमैत्री संस्कार विकास गर्न सके त्यसको सकारात्मक प्रभाव घरपरिवार र समुदायसम्म पुग्ने विश्वास गरिएको छ । वातावरण संरक्षणलाई क्षणिक अभियानमा मात्र सीमित नराखी दैनिक जीवनशैली बनाउन सके स्वच्छ र सफा नगर निर्माणमा टेवा पुग्ने आयोजकको अपेक्षा छ ।








प्रतिक्रिया राख्नुहोस्