तपाईँ सुन्दै हुनुहुन्छः

विपद् प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणमा स्रोतको अभाव हुने छैन: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि आवश्यक रकम र स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आज बसेको बैठकमा  अर्थमन्त्री डा. वाग्लेले  पुनर्निर्माणका लागि आवश्यक जलवायु वित्त सुनिश्चित गर्न विश्व बैङ्क र एसियाली विकास बैंकसँग सकारात्मक संवाद भइरहेको जानकारी दिनुभयो ।

त्रिसूली, भोटेकोशी र कालीगण्डकी नदीका तटीय क्षेत्रमा  विपद्पश्चात् गरिएका कार्यहरूको प्रगति विवरण सम्बन्धी छलफलमा अर्थमन्त्री डा. वाग्लेले विपद्पछिको समग्र पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण तथा विभिन्न जलवायु वित्त कोषमार्फत स्रोत परिचालन गरिने जानकारी दिनुभयो ।

मित्रराष्ट्र चीनसँग विपद्सम्बन्धी समन्वय बढाउँदै वैकल्पिक व्यापारिक नाका र आधुनिक सुरुङमार्ग निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो ।

बैठकमा सांसदहरूले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्दा स्थानीय संस्कृति, परम्परा र इतिहासको संरक्षण हुने गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्यायले विपद् प्रभावित मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घरबारविहीनलाई आर्थिक सहयोग र अस्थायी आवासको व्यवस्था गर्न बजेट सुनिश्चित गरिएको बताउनुभयो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रभावित क्षेत्रहरूका जमिन बसोबासका लागि अयोग्य बनेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button