लोपोन्मुख बन्दै आरन पेशा – परम्परागत व्यवसायबाट जीविकोपार्जन कठिन

बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन पेशाबाट जीविकोपार्जन गर्न कठिन हुन थालेपछि यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ।
लामो समयदेखि फलामका औजार निर्माण गर्दै आउनुभएका आरन व्यवसायीहरूले यो पेशा बाट दैनिकी चलाउन समेत मुस्किल भएको बताएका छन्।
विशेषगरी ल्वार र मिजार जातिले अँगालेको यो पेशा विगतमा गाउँ–गाउँमा फस्टाएको थियो। एक समय एउटै गाउँमा करिब १० जनासम्म आरन व्यवसायी सक्रिय हुने गरे पनि अहिले भने १/२ जना भेटाउन समेत मुस्किल भएको स्थानीयको भनाइ छ।

परम्परागत रूपमा फलामका विभिन्न औजार बनाए बापत अन्न लिने ‘बालिघरे’ प्रथा अझै कायम रहे पनि यसबाट परिवार पाल्न र छोराछोरीको शिक्षा–दीक्षा चलाउन नसकिने अवस्था आएको व्यवसायीहरूको गुनासो छ। बडिमालिका नगरपालिका–६ का आरन व्यवसायी गोरे मिजारका अनुसार यही पेशाबाट गुजारा चलाउन नसक्दा धेरै व्यवसायी भारत लगायतका देशमा रोजगारीका लागि पलायन भएका छन्।
यता, बजारमा बनिबनाउ आधुनिक औजार सजिलै उपलब्ध हुन थालेपछि परम्परागत आरन व्यवसाय थप सङ्कटमा परेको छ। प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुँदा पनि पुरानो सीप ओझेलमा पर्दै गएको हो।
आरन पेसाको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट कुनै ठोस प्रोत्साहन कार्यक्रम नआएको व्यवसायीहरूको गुनासो छ। आवश्यक सहयोग र प्रविधिको अभावमा पुस्तौँदेखि चलिआएको यो पेशा सङ्कटमा पर्दै जाँदा स्थानीय संस्कृति र सीपसमेत हराउने चिन्ता बढेको छ।








प्रतिक्रिया राख्नुहोस्