तपाईँ सुन्दै हुनुहुन्छः

अनुगमन: १७ हजार बढी म्याद गुज्रिएका सामग्री नष्ट

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका भित्र सञ्चालित होटल, रेष्टुरेण्ट, किराना पसल, मार्ट, खाद्य स्टोर, पाउरोटी उद्योग तथा दुग्ध डेरीमा संयुक्त बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा गरिएको अनुगमनका क्रममा विभिन्न प्रकृतिका २२ वटा व्यवसायको निरीक्षण गरिएको हो । अनुगमन टोलीले ६ वटा होटल तथा रेष्टुरेण्ट र खाजा घर, १३ वटा खाद्य किराना पसल, मार्ट तथा स्टोर, एउटा पाउरोटी उद्योग र दुईवटा दुग्ध डेरीको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री फेला परेपछि १७ हजार २६५ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख निराजन शर्माले जानकारी दिनुभयो । नष्ट गरिएका सामग्रीमा अखाद्य घिउ, रङ्गिन झिलिङ्गा, रेष्टुरेण्टमा प्रयोग भइरहेको पुरानो पकाउने तेल तथा म्याद गुज्रिएका पापड, चाउचाउ, मसला र जुस लगायत रहेका छन् ।

अनुगमन टोलीले व्यवसायीलाई खाद्य सामग्रीको उत्पादन तथा उपभोग्य मिति अनिवार्य जाँच गर्न, म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु बिक्री तथा प्रयोग नगर्न, पसल र भान्छाको सरसफाइमा ध्यान दिन, मूल्यसूची देखिने स्थानमा राख्न तथा ग्राहकलाई अनिवार्य बिल उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यस्तै, नापतौलमा शुद्धता कायम राख्न र उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खाद्य सामग्रीको भण्डारण तथा प्रयोगमा विशेष सावधानी अपनाउन व्यवसायीलाई सचेत गराइएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, एकीकृत सेवा कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, गल्याङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बजारमा स्वच्छता र खाद्य सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन आवश्यक रहेको जनाउँदै उपभोक्तालाई पनि सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य र गुणस्तर हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ । म्याद गुज्रिएका वा गुणस्तरहीन वस्तु बिक्री गरेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन सरकारी निकायको अनुगमनसँगै व्यवसायीको जिम्मेवारी, उपभोक्ताको सचेतना र स्थानीय तहको सक्रियता उत्तिकै आवश्यक देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button