तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार

बाजुरा । पछिल्लो समय बाजुरामा सिँचाइ संरचनाहरूको निर्माण तीव्र भएसँगै २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। 

यसअघि २० प्रतिशत जमिनमा मात्र सिँचाइको पहुँच रहेकामा गत आर्थिक वर्ष २०८२/८३ मा तीन प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिश बहादुर विष्टज्यूले जानकारी दिनुभयो।

जिल्लामा कुल २८ हजार १३५ हेक्टर खेतीयोग्य जमिनमध्ये २६ हजार १६० हेक्टरमा खेती हुँदै आएको छ। धेरैजसो भूभाग भिरालो तथा पाखो भएकाले यहाँका आदरणीय किसान दाजुभाइ तथा दिदीबहिनीहरू लामो समयदेखि आकाशे पानीको भरमा खेती गर्न बाध्य हुनुहुन्थ्यो। साना सिँचाइ कार्यक्रमअन्तर्गत ६१ वटा पोखरी तथा कुलो निर्माण गरिनुका साथै जलस्रोत तथा सिँचाइ विकास सब डिभिजन कार्यालयमार्फत १०६ वटा कुलो र ६०० मिटर तटबन्धन निर्माण गरिएपछि खेतीयोग्य जमिनमा पानी पुग्न थालेको विष्टज्यूले बताउनुभयो। चालु आर्थिक वर्षका लागि पनि प्रदेश सरकारबाट ५५ लाख रुपैयाँ विनियोजन भइसकेको छ।

विशेषगरी बुढीगङ्गा, बडीमालिका, बुढीनन्दा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका विभिन्न क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ। पानीको व्यवस्था भएपछि धान, गहुँ, आलुका साथै मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी आयआर्जन बढाउन सहज भएको बडीमालिका–५ का किसान कबिराज साउदले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button