तपाईँ सुन्दै हुनुहुन्छः

माटाका पालासँगै उज्यालिँदै कुमाल समुदायको तिहार

बाँके । चाडपर्वका बेला बजारमा विभिन्न वस्तुको माग बढ्नु स्वाभाविक हो । 

तर, तिहारको समयमा बढ्ने माटाका पालाको मागले बाँकेका कुमाल समुदायका परिवारलाई आम्दानीको अवसर सिर्जना गर्नुका साथै उनीहरूको पुर्ख्यौली पेसालाई निरन्तरता दिनसमेत सहयोग पुर्‍याएको छ ।

आधुनिक विद्युतीय बत्ती र सजावटका सामग्रीको प्रयोग बढ्दै गए पनि तिहारमा माटाका पाला बाल्ने परम्परा कायमै छ । घर, आँगन, पसल तथा मठमन्दिरमा दीप प्रज्वलन गर्ने धार्मिक तथा सांस्कृतिक मान्यताका कारण तिहार नजिकिएसँगै माटाका पालाको माग बढ्ने गरेको छ । यही माग पूरा गर्न कुमाल समुदायका परिवार अहिले पाला तथा अन्य माटाका सामग्री बनाउन व्यस्त छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरका कृपाराम कुम्हार पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै माटाका पाला र गुजी बनाउन सक्रिय हुनुहुन्छ । पुर्खाबाट सिकेको सीपलाई जोगाउनुका साथै यसैबाट आम्दानीसमेत हुने भएकाले आफूले यो पेसालाई निरन्तरता दिएको उहाँको भनाइ छ। आधुनिक सामग्रीको प्रयोग बढे पनि तिहारमा परम्परागत माटाका सामग्रीको माग अझै रहेको उहाँले बताउनुभयो ।

तिहारको समयमा हुने बिक्रीले कुमाल समुदायका परिवारलाई वर्षभरिका अन्य समयमा भन्दा राम्रो आम्दानी गर्ने अवसर प्रदान गर्ने गरेको छ। अर्जुन कुम्हारका अनुसार तिहारको एक सिजनमा मात्रै माटाका पाला बिक्रीबाट करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। तिहारमा माटाका पालाको माग बढ्ने भएकाले यस समयमा उत्पादन र बिक्री दुवै बढ्ने गरेको उहाँको अनुभव छ।

माटाका सामग्री निर्माणमा कुमाल समुदायका परिवारका सदस्य नै संलग्न हुने गरेका छन् । माटो सङ्कलन गर्ने, मुछ्ने, आवश्यक आकार दिने, सुकाउने र बिक्रीका लागि तयार पार्ने सम्मका काममा उनीहरूको श्रम र समय खर्च हुने गरेको छ। यसले परिवारका सदस्यलाई काममा संलग्न गराउनुका साथै चाडपर्वको समयमा स्थानीयस्तरमै आम्दानी गर्ने अवसरसमेत दिएको छ।

कुमाल समुदायका सबै परिवारका लागि भने माटाका सामग्री बनाउने काम पूर्णकालीन पेसा मात्र छैन । नेपालगन्ज उपमहानगरपालिका–१३ कै विनोद कुम्हार अन्यत्र रोजगारीमा आबद्ध भए पनि बिहान र बेलुकाको समय माटाका भाँडाकुँडा बनाउन खर्चिने गर्छन् । यसबाट रोजगारीसँगै अतिरिक्त आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

तिहारका बेला माटाका पाला बिक्री हुँदा कुमाल समुदायका परिवारले आम्दानी प्राप्त गर्नुका साथै स्थानीय बजारमा स्वदेशी तथा स्थानीय उत्पादनको कारोबारसमेत बढ्ने गरेको छ । स्थानीयस्तरमा उपलब्ध माटो र सीपको उपयोगबाट तयार हुने यस्ता सामग्रीको उत्पादन तथा बिक्रीले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्‍याएको छ ।

यद्यपि, माटाका सामग्री निर्माणमा लाग्ने श्रम र समय, बजारमा उपलब्ध आधुनिक सामग्रीसँगको प्रतिस्पर्धा तथा कच्चा पदार्थको व्यवस्थापन यस पेसाका चुनौतीका रूपमा रहेका छन्। मेहनतअनुसारको मूल्य र बजार सुनिश्चित नहुँदा पुर्ख्यौली पेसालाई निरन्तरता दिन कठिनाइ हुने गरेको उनीहरूको अनुभव छ ।

आधुनिकताको प्रभावसँगै परम्परागत सीप र पेसा विस्थापित हुने जोखिम बढिरहेका बेला कुमाल समुदायले माटाका सामग्री उत्पादनलाई निरन्तरता दिनु सांस्कृतिक संरक्षणसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधिका दृष्टिले पनि महत्त्वपूर्ण छ। तिहारमा बालिने माटाका पाला केवल घरआँगन उज्यालो बनाउने सामग्री मात्र नभई स्थानीय श्रम, सीप र उत्पादनलाई बजारसँग जोड्ने माध्यम समेत बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button