नेपालगञ्जमा १०८ फिट अग्लो हनुमान मूर्ति निर्माण

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले करिब १४ करोड रुपैयाँको लागतमा निर्माण गरेको उक्त मूर्ति सहरको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माका अनुसार मूर्ति निर्माणका लागि १४ करोड ४ लाख ६३ हजार रुपैयाँ लागत रहेको थियो । निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरुमा २०८१ चैत २ गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिए पनि पछि थप गरेर २०८३ असोज ३० गतेसम्म पुर्याइएको थियो ।
मूर्ति निर्माणमा संलग्न कालीगढ दिलवीर सुनार सेन्चुरीले हनुमानगढीको भौतिक संरचनासहित मूर्ति निर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राममन्दिर निर्माण भएपछि भगवान् राम र हनुमानबीचको सम्बन्धलाई जोड्दै नेपालगञ्जलाई अयोध्यासँग धार्मिक पर्यटनका माध्यमबाट जोड्ने उद्देश्यले मूर्ति निर्माण गरिएको बताउनुभयो ।
उहाँले १०८ फिट अग्लो हनुमानको मूर्तिले नेपालगञ्जको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । “यसले नगरको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप बलियो बनाउनुका साथै अयोध्यासँगको धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौँ,” नगर प्रमुख विष्टले भन्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको उक्त मूर्तिको फाउन्डेसन र प्लेटफर्म निर्माणपछि मूर्तिको संरचना तयार पार्ने काम अघि बढाइएको थियो । हनुमानगढीमा हरेक वर्ष हनुमान जयन्तीका अवसरमा विशेष उत्सव समेत आयोजना हुँदै आएको छ ।
मूर्ति निर्माण सम्पन्न भएसँगै हनुमानगढी नेपालगञ्जको नयाँ धार्मिक आकर्षणका रूपमा विकास हुने र यसले स्थानीय पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्