ताप्लेजुङ जिप्रकाबाट जुनसुकै जिल्लाबाट जारी नागरिकताको प्रतिलिपि लिन सकिने
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जुनसुकै जिल्लाबाट नागरिकता निकाले पनि कागजात र प्रक्रिया पुरा गरे नागरिकताको प्रतिलिपि ताप्लेजुङबाट पाइने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बुधबार एक सूचना जारी गर्दै नागरिकता प्रमाणपत्र बाहेकको हकमा जैविक विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली प्रमाणीकरण हुनु साथै केन्द्रकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली विवरणको अद्यावधिक भएको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा रहनुहुने ताप्लेजुङ जिल्लाका नागरिकहरूले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकता प्रतिलिपि लिन सक्ने बताइएको छ । ७३ जिल्लामा रहनु हुने ताप्लेजुङका नागरिकहरूले तत् तत् जिल्ला प्रशासन कार्यालयबाट नै प्रतिलिपि लिन सक्नेछन् ।
यसरी राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र केन्द्रकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएका विवरणसँग हुबहु मिलेको अवस्थामा नागरिकता प्रमाणपत्रको प्रतिलिपि माग गर्दा स्थानीय तहको सिफारिस आवश्यकता नपर्ने, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लागि स्थानीय तहको सिफारिस आवश्यकता नपर्ने हकमा नागरिकता नियमावली (पाँचौँ संशोधन) २०८३ को अनुसूची—१६ बमोजिमको साथै बेजिल्लाको प्रतिलिपि माग गर्दा अनुसूची—१८ बमोजिमको ढाँचामा निवेदन र आवश्यक पर्ने अन्य प्रमाण कागजातहरू पेश गर्नुपर्नेछ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले हस्ताक्षर गर्नुभएको सूचनामा नागरिकता ऐन एवं नियमावली बमोजिम नेपाली नागरिकता प्रमाणपत्र र प्रतिलिपिका सम्बन्धमा स्थानीय तहले गरेको सिफारिस ३५ दिनसम्म मात्र छ भने नागरिकताको प्रतिलिपिका लागि रु १० को हुलाक टिकट बाहेक अन्य थप कुनै दस्तुर नलाग्ने सूचनामा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्