आईपीयू अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको ‘एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन’ नेपालमा आयोजना गर्ने विषयमा छलफल
काठमाडौँ । अन्तर व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको ‘एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन’ नेपालमा आयोजना गर्ने विषयमा सरोकारवालाहरूबिच छलफल भएको छ ।

सभामुख डोलप्रसाद अर्यालको पहलमा आज सिंहदरबारमा भएको छलफलमा संंघीय संसद् र आईपीयूको संयुक्त आयोजनामा काठमाडौँमा सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।
छलफलमा दिगो विकास, जलवायु परिवर्तन तथा मिथेन ग्याँस उत्सर्जन न्यूनीकरणजस्ता समसामयिक विषयलाई केन्द्रमा राखेर सम्मेलन आयोजना गर्ने प्रस्तावमाथि छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
प्रस्तावित सम्मेलनले एसिया–प्रशान्त क्षेत्रका सांसदहरूबिच सम्बन्ध विस्तार, संसदीय सहकार्य अभिवृद्धि तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि साझा प्रयासलाई थप सुदृढ बनाउनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र साझा रणनीति निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्मेलन आयोजनाबाट नेपालको संसदीय कूटनीति प्रवद्र्धन हुनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा होटल, हवाई सेवा र अन्य आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा समेत गरिएको छ ।
छलफलका क्रममा गत असोज १९ देखि २३ गतेसम्म तान्जानियाको अरुसामा सम्पन्न अन्तर व्यवस्थापिका संघ (IPU) को १५३ औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराइएको थियो ।
छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्