पाथीभरा (मुकुम्लुङ) मन्दिरमा दर्शनार्थीको घुइँचो
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक धाम पाथीभरा (मुकुम्लुङ) मन्दिरमा मङ्गलबार बिहानैदेखि दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। अनुकूल मौसम र चाडपर्वको समय भएकाले मन्दिर परिसरमा भक्तजनको चाप ह्वात्तै बढेको हो।

मङ्गलबार एकै दिन १० हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङका अनुसार भक्तजनको उल्लेख्य उपस्थितिलाई मध्यनजर गर्दै मन्दिर क्षेत्रमा कर्मचारी तथा स्वयंसेवक परिचालन गरी सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको छ।

“अहिले पाथीभरा मन्दिर परिसर भक्तजनले भरिभराउ छ,” कार्यकारी निर्देशक हाङ्वाङले भन्नुभयो, “मन्दिर आउने क्रम पनि उत्तिकै जारी छ।”

समुद्र सतहबाट ३,७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा तीर्थयात्रीको संख्या बढेसँगै ताप्लेजुङ सदरमुकाम लगायत आसपासका क्षेत्रमा सवारी साधनको आवतजावत तीव्र बनेको छ। दर्शनार्थीको बाक्लो उपस्थितिले गर्दा स्थानीय होटल तथा लजहरू खचाखच भरिएका छन्, जसका कारण स्थानीय पर्यटन तथा व्यापार व्यवसायीमा समेत उत्साह थपिएको छ।









प्रतिक्रिया राख्नुहोस्