तिहारमा माटाेका सामाग्री बनाउन कुमाले समुदाय व्यस्त
विराटनगर । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै मोरङका कुमाले समुदायलाई माटोका सामग्री बनाउन भ्याइनभ्याइ छ ।
तिहारको लक्ष्मीपूजा तथा लगत्तै आउने छठ पूजाका लागि आवश्यक पर्ने दियो, घैला, कलश, पाला, ढकना लगायतका सामग्री बनाउन उनीहरूलाई भ्याइनभ्याई छ ।

माटोको सामाग्री बनाउन अहिले बालबालिका देखि घरका सम्पुर्ण सदस्य दिनरात खटिन थालेका छन् । तिहारमा घरघरमा माटोका दियो बालेर धनकी देवी लक्ष्मीको स्वागत गरिन्छ ।
तर, विडम्बना अरूको घर उज्यालो बनाउन दिनरात माटोसँग सङ्घर्ष गर्ने कुमाले परिवारकै घरमा भने आर्थिक अभावको अँध्यारो छ । पुस्तौँदेखि माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरू अहिले आफ्नो पुर्ख्यौली पेसा जोगाउनै मुस्किल पर्ने अवस्थामा छन् ।
आधुनिक विद्युतीय बत्तीको चमकले बजार ओगट्दै गर्दा माटोका दियो बनाउने हातहरू बिस्तारै ओझेलमा पर्ने थालेका छन् ।

मोरङ सुनवर्सी नगरपालिकाका विरेन्द्र पण्डित भन्नुहुन्छ, ‘तिहारमा माटोका दियो बालेर संस्कृति जोगाउने हामीले ती दियो बनाउने कुमालेहरूको भविष्य जोगाउन कति प्रयास गरेका छौँ भन्ने आत्मासाथ गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारको सहयोग, उचित बजार र नयाँ पुस्ताको आकर्षणबिना यो पेसा कति समय टिक्ला?’
तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्दा माटाको दियो बाल्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले यस समयमा दियोको माग बढ्ने गर्दछ । यही मागलाई ध्यानमा राख्दै मोरङको रंगेली नगरपालिका५ स्थित आमगाछी र सुनवर्षी ९ स्थित कदमगाछी क्षेत्रमा बसोबास गर्ने कुमाले परिवार यतिबेला माटाका सामग्री बनाउन जुटेका छन् ।
उक्त क्षेत्रमा करिब ५० देखि ६० घरपरिवार हरुले पुस्तौँदेखि यही पेसामा आश्रित रहँदै आएका छन् । कुमालेहरूले चिम्टाइलो माटोबाट दियो, घैला, कोसिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलिया लगायतका सामग्री तयार गर्दै आएका छन् ।
बजारमा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दै जानु, माटाका सामग्रीप्रति उपभोक्ताको आकर्षण घट्नु र उत्पादन लागत बढ्नुले व्यवसाय प्रभावित भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार २० वर्षअघि यही पेसाबाट परिवारको जीविकोपार्जन सहजै हुने गरेको थियो । तर अहिले बजारमा आधुनिक सामग्रीको प्रयोग बढेसँगै माटाका भाँडाको माग घट्दै गएको छ ।
१५ वर्षअघिसम्म यही पेसाबाट राम्रो आम्दानी हुने गरे पनि अहिले परिवारको खर्च धान्नसमेत कठिन हुन थालेको उहाँको भनाई छ ।
पुर्खाले गर्दै आएको पेसा भएकाले निरन्तरता दिइरहे पनि मेहनतअनुसारको आम्दानी हुन नसकेको उहाँको भनाइ छ । माटाका सामग्री उत्पादन गर्न आवश्यक माटो, पराल र दाउरा खरिदमै ठूलो रकम खर्च हुने कुमालेहरू बताउँछन् । सामग्री तयार पार्न पनि उत्तिकै समय र मेहनत लाग्ने गरेको छ । सुरुमा माटोबाट भाँडाकुँडाको आकार दिएपछि दिनभरि घाममा सुकाउनुपर्छ । त्यसपछि २४ देखि ७२ घण्टासम्म आगोमा पकाएर मात्रै बिक्रीयोग्य बनाइने गरिन्छ ।
यसरी तयार पारिएका सामग्री विराटनगर रंगेली, कर्सिया, दोहमाना र डाइनिया लगायतका बजारमा लगेर बिक्री गर्ने गरिएको छ । तिहारका बेला विशेषगरी दियो र घैलाको माग बढी हुने गरेको छ ।
अहिले एक सय वटा दियो दियो प्रति सय ६० रुपैयाँका दरले बिक्री गर्दै आएको कुमालेहरू बताउँछन् । तर उपभोक्ताले घरमै बनेको माटाको सामग्री भन्दै सस्तो मूल्य खोज्ने गरेकाले उचित मूल्य पाउन कठिन भएको छ ।
नयाँ पुस्ताले माटाका भाँडा बनाउने पेसाप्रति रुचि देखाउन छाडेपछि पुस्तौँदेखिको सीप र कला नै लोप हुने अवस्थामा पुगेको उनीहरूको चिन्ता छ । गाउँका अधिकांश परिवारको जीविकोपार्जन यही पेसामा निर्भर रहेकाले यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको छ ।
यसैबीच, रंगेली नगरपालिकाले कुमाले समुदायको पेसालाई आधुनिक र सहज बनाउन सहयोग गरेको छ । पालिकाका कार्यवाहक मेयर भुमा पराजुलीले भक्तपुरबाट माटाका भाँडा बनाउने विद्युतीय उपकरण ल्याएर कुमाले समुदायलाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।
उहाँले माटोको अभाव हुन नदिन नगरपालिकाले सोही गाउँका अन्य परिवारका लागि ६ कठ्ठा जग्गासमेत खरिद गरेर कुमाले परिवारलाई उपलब्ध गराएको जानकारी दिनुभयो ।
बजार प्रतिस्पर्धाबिच पुस्तौँदेखि चल्दै आएको माटाका भाँडा बनाउने पेसा जोगाउन स्थानीय सरकारको थप सहयोग, उचित बजार व्यवस्थापन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न आवश्यक छ । अन्यथा, तिहारमा घरघरमा उज्यालो छर्ने माटाका दियो बनाउने कुमालेहरूकै पुर्ख्यौली पेसा भने बिस्तारै अँध्यारोतर्फ धकेलिने जोखिम बढ्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्