तपाईँ सुन्दै हुनुहुन्छः

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौँ ।  सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरूप अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता हालसम्म २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद गर्नुका साथै आठ जनालाई पक्राउ गरिएको छ । यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ११८ जना बालबालिका छन् । घटनामा संलग्न ९१ जनालाई पक्राउ गरिएको छ ।

सीमा अतिक्रमण नियन्त्रणअन्तर्गत दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ भने १७ स्थानमा ७ दशमलव ४४८ बिगाह जग्गाबाट खेतीपाती हटाइएको छ । त्यस्तै, २०४ स्थानमा ९४ दशमलव ५८८ किलोमिटर सीमा क्षेत्र सरसफाइ गरिएको छ ।

सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि यस अवधिमा दुई हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ । साथै, १४१ सहायता कक्षबाट तीन लाख ४९ हजार ९०८ जना तथा १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button