तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ल्याहा मुलमा ताल निर्माण गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा सिँचाइ अभाव हुन नदिन जुम्ल्याहा मुलमा मानव निर्मित ‘ताल’ निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । 

चौकुनेको अन्न भण्डारका रुपमा चर्चित गुटुको खेतीयोग्य जमिनलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको १४ करोड लगानीमा जुम्ल्याहा मुल ताल निर्माण कार्य अन्तिम चरण पुर्‍याइएको हो । 

चार हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको कृत्रिम ताल तोकिएको समयमा सम्पन्न भएमा चौकुनेका ६, ७ र ८ नम्बर वडाका १४ सय बढी घरधुरीलाई बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । तीव्र गतिमा निर्माणाधीन जुम्ल्याहा मुल ताल बहुउद्देश्यीय परियोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जुम्ल्याहा मुल ताल संरक्षण तथा व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर बुढाक्षेत्रीले बताउनुभयो । 

उहाँले बहुउद्देश्यीय तालबाट सिँचाइसँगै अन्य क्षेत्रबाट लाभ लिन सकिने देखिएकाले प्रदेशसँगै संघीय सरकारको समेत सहयोग अपरिहार्य आवश्यक रहेको बताउनुभयो । 

गुटुको उर्वर भूमिमा बाह्र महिना सिँचाइ सुविधा पुर्‍याउन सके वातावरण संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरी एकीकृत विकासको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको चौकुने–८, का स्थानीय दृष्टि देवकोटाले बताउनुभयो । 

अब तालको वरिपरि फुटपाथ, उद्यान, विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यका लागि काम गर्न थप लगानी आवश्यक देखिएको चौकुने–७, का स्थानीय शिवराज न्यौपाने बताउनुभयो । उहाँका अनुसार यसअघि जुम्ल्याहा मुलमा तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न हुँदा व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई सहज भएको छ । करिब ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेपछि गाउँमा व्यावसायिक कृषिको लहर छाएको उहाँको भनाइ छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा जुम्ल्याहा मुल ताल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित थप ३ करोड रकम विनियोजन गरेको छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत जुम्ल्याहा मुल ताल बहुउद्देश्यीय परियोजनाको काम भइरहेको छ । आयोजना आर्थिक वर्ष २०८१/०८२ देखि शुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button